वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो ।

असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७ साउनसम्ममा ४४ खर्ब २१ अर्ब मात्र बाँकी छ । निक्षेपमा सवा खर्ब बेपत्ता हुँदा कर्जामा भने असार मसान्तजतिकै रहेको छ । असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा साउन अन्तिम सातासम्ममा पनि ४१ खर्ब ७५ अर्ब नै निक्षेप रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दिन बैंकिङ सिस्टमबाट निक्षेप घटिरहेको छ । निक्षेप घटे पनि कर्जा प्रवाह भने बढेको छ । एक सातालाई मात्र हिसाब गर्ने हो भने वाणिज्य बैंकमा अघिल्लो साता निक्षेप २५ अर्ब ५९ करोड रुपैयाँ घटेको छ । २० साउनसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ४६ अर्ब निक्षेप रहेकोमा २७ साउनमा घटेर ४४ खर्ब २१ अर्ब कायम भएको छ ।

कहाँ गयो त्यति धेरै रकम?

एक महिनामा ठूलो मात्रामा निक्षेप रकम बाहिरिएकाले यसले बैंकहरूमा तरलता समस्या निम्तिने जोखिम बढ्न थालेको छ । साउन पहिलो साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता २५ अर्ब निक्षेप घटेको देखिएको छ । यो चार साताको अवधिमा बैंकहरूको कर्जा प्रवाह भने स्थिर छ ।

असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा २८ साउनमा पनि त्यति नै कायम भएको छ । निक्षेप घट्नुको प्रमुख कारणमध्ये सहकारीबाट निक्षेप फिर्ता माग्नु रहेको प्रारम्भिक अनुमान छ ।

राष्ट्र बैंकले घरजग्गामा कडाइ गर्दै ३० प्रतिशत मात्र मूल्यांकनका आधारमा नयाँ कर्जा र कर्जा नवीकरण गर्न सकिने मौद्रिक नीतिमा व्यवस्था गरेपछि कर्जा तिर्न बैंक तथा वित्तीय संस्थाले बचत फिर्ता माग्न थालेका छन् । बचत फिर्ता माग्दा सहकारीले दिन नसकेपछि तिनका सञ्चालक बेपत्ता हुन थालेका छन् । सहकारी लथालिंग हुन थालेपछि जनताले घरमै मुद्रा थन्क्याउनेक्रम बढाएकाले निक्षेप घटेको बताइन्छ ।

एक साताबीच विदेशी मुद्रामा १ अर्ब निक्षेप बढेको देखिएको छ । नेपाली मुद्रामा भने गत सातासम्म ४३ खर्ब ३९ अर्ब निक्षेप जम्मा भएको थियो भने अघिल्लो साता अर्थात् २७ साउनसम्ममा ४३ खर्ब १२ अर्ब निक्षेप संकलन भएको थियो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *