काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ चाबहिलको मार्गस्थित द माइलस्टोन होटेलको कोठा नम्बर ६०१ बाट चार किलो लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेचलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीसँग लागूऔषध लिन आएको बेला बा २ ज ५६५५ नम्बरको ट्याक्सी चालक नुवाकोट तादी गाउँपालिका–५ का ५० वर्षीय सुकेश तामाङलाई सोही होटेल नजिकको सडकबाट तथा सुकेशलाई उक्त पदार्थ लिन पठाउने भारत दिल्लीका ३२ वर्षीया ज्योथाङ्गीलाई तिलगङ्गाबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
यसैगरी भक्तपुर बस्ने ताप्लेजुङका राजकुमार तामाङ र सुशीला तामाङलाई ८ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र नगद रु ६५ हजार ५०० सहित पक्राउ गरिएको ब्यूरोले सूचना जारी गरी जनाएको छ ।
सबैजनाउपर लागूऔषध मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।
