भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्ने जनाइएको छ ।

समितिका सदस्यहरूमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिनियर डिभिजनल इन्जिनियर शङ्करसिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर सङ्घ सङ्गठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी रहेका छन् ।

यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ । भविष्यमा आउन सक्ने सम्भावित समस्याको निराकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव जङ्गबहादुर डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूमा सिनियर डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्र, सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसाल, इञ्जिनियर सागर पन्थी, इञ्जिनियर अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा छन् ।

समितिले ४५ दिनभित्र आवश्यक अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ । मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *