बनेन सडक, थापियो धराप

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२, कपन बस्ने भीमलादेवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सकिनन् ।
१० बजेसम्म सडकमा भेल घट्ला र छोरालाई विद्यालय पठाउँला भन्ने आशमा बसेकी उनले भेट नघटेपछि छोरालाई विद्यालय पठाउन सकिनन् । सोही स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि १० वर्षदेखि पसल सञ्चालन गरिरहेकी विमला लुइँटेलको व्यापार नभएको महिनौँ भयो ।
उनी भाडाबापत मासिक २८ हजार रुपैयाँ तिर्दै आएकी छन्। लुइँटेल बस्ने घरमै रहेका दुईवटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे । उनको पनि व्यापार नभएको धेरै हप्ता बित्यो । सर्लाहीदेखि काठमाडौँ आएर व्यापार गर्न थालेदेखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन ।
उनले भनिन् “पसलकै आम्दानीले भाडा तिर्ने हो । एक पैसा पनि आम्दानी नभएपछि पसल सार्नेबाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ ।”
कोइराला र लुइँटेलजस्तै पीडामा हुनुहुन्छ, कपनकै मिलनचोक तरकारी बजारका सम्राटसिंह तामाङ । सडकपेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाइनन् । उनीहरुजस्तै यस क्षेत्रमा १० हजारभन्दा बढी नागरिकको साझा समस्या हो यो ।
२०७८ पुस १८ गते लुइँटेलको घरअगाडि काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई समेट्ने आनीगुम्बादेखि धोबीखोलासम्मको सडकमा नाला निर्माणका लागि ७ फिट गहिरो खाडल खनिएको छ । सडक लथालिङ्ग पारिएको छ । जसका कारण उक्त क्षेत्रका दुई दर्जन पसल सञ्चालकले सारेको लुइँटेलको भनाई छ ।
बूढानीलकण्ठ–१२ को आनीगुम्बादेखि मिलनचोक, तरकारी बजार हुँदै धोबीखोलासम्मको सडकमा पक्की नाला निर्माणअन्तर्गत २०७८ पुस १८ गते सडक खन्न सुरु भयो । सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७८ जेठ २६ गते सम्झौता गरी एक हजार चार सय मिटर नाला निर्माण गर्न असार २० गते सम्पन्न गर्ने सर्तमा ठेक्का दिएको हो । तर काम १५ प्रतिशत पनि भएको छैन ।
ललितपुरको बालकुमारीस्थित हाई हिमालय–पीआर जेभीले बक्स कल्भर्ट र सडक निर्माणको ठेक्का पाएको छ । कम्पनीका सञ्चालक पञ्चराम महर्जनले बर्खा लागेपछि काम रोकिएको बताए ।
ठेकेदार महर्जनले आगामी वर्षसम्ममा काम सक्ने बताए पनि स्थानीयवासी बाटो बन्नेमा विश्वस्त छैनन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *