पार्टी भन्दा बलिया मन्त्री

काठमाडौं । आफ्ना पार्टीका मन्त्री हेरफेर गर्न नेकपा (एकीकृत समाजवादी) ले गरेको आग्रहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आलटाल गर्दै आएका छन् । एकीकृत समाजवादीले गत जेठ २२ गते प्रधानमन्त्री देउवालाई पत्र लेख्दै आफ्ना पार्टीका चार जना मन्त्रीहरुलाई हटाई नयाँ चार जनालाई मन्त्री बनाउन नाम पठाएको थियो । एकीकृत समाजवादीले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्री बनाउन हिराचन्द्र केसीको नाम प्रधानमन्त्री देउवालाई पठाएको थियो । यसैगरी स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई त्यही मन्त्रालयमा बढुवा गरी मन्त्री बनाउन अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवा समक्ष प्रस्ताव गरेका थिए ।

तर, पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरू प्रेम आले, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अलग–अलग भेटेर आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगराउन लबिङसहित दबाब सिर्जना गरेपछि अध्यक्ष नेपाल पछि हट्न बाध्य भएका थिए । प्रधानमन्त्री देउवाले बजेट विनियोजनका सन्दर्भमा मन्त्रीहरुले संसदमा जवाफ दिने बेला मन्त्रिपरिषद पुनर्गठन गर्दा राम्रो सन्देश नजाने भन्दै बजेट पारित भएपछि परिवर्तन गर्ने आश्वासन दिएका थिए । बजेट पारित भएको पनि एक साता पुग्न लागेको छ । तर प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको पत्रलाई कार्यान्वयन गरेका छैनन् । आफ्ना पार्टीका मन्त्री परिवर्तन गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्वार ताकेता गरेको गर्यै छन् । बिहीबार पनि माधव नेपालले माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । भेट मन्त्री परिवर्तनको विषयमै केन्द्रित थियो ।

दुई नेतासँगको भेटपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । बैठकपछि एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णय केही घण्टामै लागू हुने बताएका थिए । उनले भनेका थिए, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।’ पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ थियो । अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ थियो ।

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय २० दिनसम्म कार्यान्वयनमा नआएपछि एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ । सम्मानित नेता झलनाथ खनालसहित पदाधिकारीले निर्णय कार्यान्वयन नभएकोमा अध्यक्ष माधव नेपालको भूमिकामाथि प्रश्न उठाएको बताइन्छ । पार्टीको निर्णय स्वीकार गर्दै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिएको भए यो रडाको हुने नै थिएन । आफ्ना मन्त्रीहरुलाई राजीनामा दिनका लागि सहमत गराउन नसक्नेले किन ठूला कुरा गर्नु ? भन्ने प्रश्न प्रधानमन्त्री देउवाले अघि सारेको बताइन्छ । वर्तमान मन्त्रीहरू सकेसम्म निरन्तरताको पक्षमा छन् । यति मात्रै होइन मन्त्री बन्न नपाए सांसद पद नै त्यागेर एमालेमा फर्कने चेतावनी समेत चार जना मन्त्रीले दिएको खबर सार्वजनिक भइरहेका छन् । यी चार जना मन्त्रीहरुसँग थप ७ जना सांसद रहेको बताइन्छ ।

प्रतिनिधिसभामा नेकपा एसको २३ सिट छ । वर्तमान चार जना मन्त्रीहरुलाई बर्खास्त गर्दा २३ मध्ये ११ सिट घट्ने र आफू अल्पमतमा पर्ने आँकलन प्रधानमन्त्री देउवाको छ । त्यसैले पार्टी भित्रै सहमति गर्न प्रधानमन्त्री देउवाले नेकपा एसलाई आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री देउवा चार मन्त्रीले आफैं राजीनामा दिउन् भन्ने पक्षमा छन् । किनकी आफूलाई संकटमा परेको बेला साथ दिएका कारण सकेसम्म बर्खास्त गर्नु नपरोस् भन्ने ध्येय प्रधानमन्त्री देउवाको छ । एकीकृत समाजवादीबाट मन्त्री बनेका चार जना मध्ये प्रेमबहादुर आले र किसान श्रेष्ठलाई प्रधानमन्त्री देउवा स्वयंले एमालेको ओली टिमबाट अलग्याएर माधव नेपालको टिममा ल्याएका हुन् । गत आम निर्वाचनमा एमालेको तर्फबाट चुनाल लड्दादेखि नै प्रेमबहादुर आले र किसान श्रेष्ठलाई देउवाको पारिवारिक टिमले सहयोग गरेको कांग्रेसका जानकारहरु बताउँछन् । तनहुँ क्षेत्र नम्वर १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध चुनाव लडेका किसान श्रेष्ठलाई जिताउन देउवा टिमले सहयोग गरेको थियो ।
त्यसैगरी डोटीमा बीरबहादुर बलायरलाई चुनाव हराउने प्रयोजनका लागि देउवाको किचेन क्याविनेटले एमालेका उम्मेद्वार प्रेमबहादुर आलेलाई सहयोग गरेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन् ।

यसअघि किसान श्रेष्ठ र प्रेमबहादुर आले एमाले अध्यक्ष ओलीका सबैभन्दा निकट सहयोगी थिए तर प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन उनीहरु दुवै जनाले थप ७ जना सांसदसहित एकाएक देउवालाई साथ दिएका थिए । यसैले यी दुई जना मन्त्रीलाई अपमानजनक ढंगबाट पदमुक्त गर्न प्रधानमन्त्री देउवा तयार छैनन् । यसैगरी रामकुमारी झाँक्री तथा विरोध खतिवडालाई पनि अपमानजनक ढंगबाट बर्खास्त गर्ने पक्षमा पनि छैनन् । नेकपा एकीकृत समाजवादी गठनका लागि रामकुमारी झाँक्री र विरोध खतिवडाको निर्णायक भूमिका रहेको ठहरमा प्रधानमन्त्री देउवा छन् । पार्टी गठनका बेला रामकुमारी झाँक्री र विरोध खतिवडाले पाखुरामा समातेर तान्दै माधव नेपाललाई निर्वाचन आयोगमा पुर्याएका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरियो भने आफ्नो पार्टी भित्र पनि मन्त्री परिवर्तनका लागि दवाव आउने सूचना प्रधानमन्त्री देउवाले पाएका छन् ।

त्यसैले आफ्नो पार्टी भित्र उत्पन्न हुनसक्ने संभावित असन्तुष्टिका कारण पनि सभापति देउवा मन्त्रिपरिषद पुनगर्ठनका लागि हच्किएका हुन् । वर्तमान प्रतिनिधिसभाको निर्धारित कार्यकाल अब ६ महिना मात्रै बाँकी छ । आगामी मंसिरको पहिलो साता भित्र कुनै पनि हालतमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गराउनुपर्ने हुन्छ । प्रधानमन्त्री देउवा त्यो तयारीमा जुटेका छन् । त्यसैले अबको केही साता भित्रै वर्तमान सरकार काम चलाउनमा परिणत हुनेछ । सरकार काम चलाउनमा परिणत हुने बेलामा मन्त्रिपरिषद पुनर्गठन गर्नुको कुनै तुक छैन ।
मन्त्रिपरिषद पुनर्गठन विना नेकपा एकीकृत चल्नै नसक्ने अवस्था हो भने यो पार्टीको कुनै भविष्य छैन । चार जना मन्त्रीहरुलाई विस्थापित गरिए पछि नेकपा एसमा थप रडाको उत्पन्न हुने निश्चत छ । माधव कुमार नेपाल पार्टी संचालन गर्न असफल भएको पुष्टि घटनाक्रमले गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *