चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्री गर्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं । लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोटको ककनी गाउँपालिका–१ घर भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिनाइजाजत अवैध रूपमा औषधिहरु बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

साथै, फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिए छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *