डीआईजी बढुवामा सकस

काठमाडौं । नेपाल प्रहरीतर्फ २० मध्ये १७ डीआईजीको दरबन्दी रिक्त रहँदा प्रहरी संगठन सञ्चालनमा नै असर पर्न थालेको छ । लामो समयसम्म रिक्त डीआईजीको दरबन्दी पूर्ति गर्नेतर्फ सरकारले चासो नदेखाउँदा सातमध्ये चार प्रदेश डीआईजीविहीन छन् ।सात प्रदेशमध्ये चार वटा प्रदेशको नेतृत्वमा डीआइजी नहुँदा पुलिसिङमा नै असर पर्न थालेको छ । प्रदेशमा प्रहरीको नेतृत्व डीआइजीले गर्दै आएका छन् ।

हाल प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश डीआईजीविहीन छन् । मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै अहिले डीआईजीले जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । डीआईजी बढुवा लम्बिँदा सयौं प्रहरीको करिअरमा असर पर्ने अवस्था बन्दै गएको छ ।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा भएसँगै १७ जना डीआइजीको दरबन्दी रिक्त भएको थियो । उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएपछि रिक्त डीआईजीको संख्या १७ पुगेको हो । सो पदमा दुई दर्जन बढी एसएसपी बढुवाका लागि दौडमा छन् । प्रहरीमा जनपदतर्फ २० डीआईजीको दरबन्दी छ ।

यसअघि प्रदेश नम्बर १ मा बीसी, बाग्मतीमा सिंह र गण्डकीमा लोहनी डीआईजी थिए । कर्णाली प्रदेश यसअघिदेखि नै एसएसपीको भरमा चल्दै आएको छ ।

बढुवाका लागि आवश्यक पर्ने १७ पदमा फागुन २०७५ मा बढुवा भएका १३ जना एसएसपीको सम्भावना छ । वरीयताअनुसार सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोसराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल डीआईजीको दौडमा छन् ।

यसैगरी वैशाख २०७७ सालमा एसएसपीमा बढुवा भएका १४ जना एसएसपी पनि डीआईजी बढुवाको दौडमा छन् । जसअनुसार जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल र चन्द्रकुवेर खापुङ डीआईजीको दौडमा छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *