नेपाल प्रहरीमा चार एआइजी रिक्त

काठमाडौं। नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त छन्। साउनको २० गतेयता चारजना एआइजी ‘उमेरहद’का कारण अवकाश गएसँगै उक्त दरबन्दीहरू रिक्त भएका हुन्।

अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबहादुर धानुक र अरूणकुमार बिसी कात्तिक २४ गते उमेरहदकै कारण अवकास गएका छन्।

धमाधम चारजना एआइजी रिक्त हुँदासम्म पनि सरकारले पदपूर्तिका लागि हालसम्म कुनै प्रक्रिया भने अगाडि बढाएको छैन। गृह मन्त्रालयले निर्वाचनका कारण एआइजी बढुवा प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको छ। प्रहरी नियमावलीअनुसार रिक्त भएको तीन महिनाभित्र दरबन्दी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।

प्रहरी नियमावलीअनुसार एआइजीको बढुवाका हकमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले सिफारिस गर्ने व्यवस्था छ। जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र आइजिपी सदस्य रहन्छन्। बढुवा भने मन्त्रिपरिषद्ले गर्छ।

अहिले हुनुपर्ने एआइजी बढुवालाई चैतपछि हुने प्रहरी महानिरीक्षक (आइजिपी)का रूपमा पनि हेरिएको छ। यसैले अहिले बहाल रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूले बढी चासोका साथ हेरिरहेका छन्। तर सरकारले नै बढुवा प्रक्रियामा ढिलाइ गरिदिँदा उनीहरू उकुसमुकुसको स्थितिमा छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *