एमालेमा चर्किंदै विवाद

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो ।

अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए ।

‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।

‘कुनै नेताको फरक मत वा असहमतिका केही विषय भए पार्टी कमिटीको बैठकमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका हौैं,’ बडालले भने ।

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेता भुसालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । विगतमा समेत ओलीको गतल एवं मनोमानी कार्यशैलीको भुसालले आलोचना गर्दै आएका थिए ।

पार्टी अध्यक्ष ओलीको बैठकमै आलोचना गर्दै आएका भुसाल सार्वजनिक रूपमै चर्को अलोचना गरेपछि ओलीकै निर्देशनमा अनुशासनको डन्डा चलाइएको भुसाल निकट नेताहरू बताउँछन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *