पोखरामा आज भाइटिका महोत्सव

कास्की ।  नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा आज १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुँदैछ ।

तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

“नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटिका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहोर्‍याएर समेत टीका लगाउन आउने गरेका छन्”, अध्यक्ष सुवेदीले भने।

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई विदेशी पर्यटकमाझ प्रत्यक्ष अनुभव गराउने कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

त्यस अवसरमा पर्यटकलाई नेपाली परम्परागत परिकार सेलरोटी लगायतका परिकार खुवाइनुका साथै मौलिक देउसी–भैलोसमेत प्रस्तुत गरिनेछ । नेपाली संस्कृतिको जीवन्त अनुभव दिलाउँदै पर्यटकलाई स्थानीय चाडपर्व र परम्परासँग जोड्ने लक्ष्य महोत्सवले लिएको छ । होटल सङ्घ पोखरा नेपालले विगतका वर्षदेखि निरन्तर आयोजना गर्दै आएको भाइटिका महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । महोत्सवले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली संस्कृति बुझ्ने र त्यसमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *