निर्वाचनको परिणाम सन्तोषजनक आएको गठबन्धनको निष्कर्ष

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा पनि गठबन्धन आबद्ध पाँच दलभित्र सहमति गरेर जान जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ ।

नेता पौडेलले गठबन्धन आबद्ध जिल्ला तहका नेतृत्वलाई पालिका कार्यसमिति र जिल्ला समन्वय समिति बनाउँदा सहमतिका साथ अघि बढ्न निर्देशन गरिएको जानकारी दिएका हुन् ।

पौडेलका अनुसार सो निर्देशन कार्यान्वयनका लागि पाँचौं दलले आ–आफ्नो दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबीचको चुनावी तालमेलको निर्णय सबै स्थानीय तहमा कार्यान्वयन नभए पनि गठबन्धनबीचको तालमेल मूलभूत रूपमा सफल भएको बताइन् ।

सत्तारूढ दलबीचमा देशभरका ७ सय ५३ पालिकामध्ये २ सय ९ पालिकामा चुनावी तालमेल भएको थियो । मुख्य गरी महानगर र उपमहानगरमा गठबन्धन आबद्ध दलहरूले तालमेललाई कसिलो बनाएका थिए ।

देशभरका ७ सय ५२ पालिकाको अन्तिम नजिता आउँदा गठबन्धनमा आबद्ध प्रमुख घटक कांग्रेसले ३ सय २९, माओवादीले १ सय २१, जसपाले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले दुई पालिका प्रमुख जितेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *