साकार हुँदै जित्नैपर्ने दबाब

पोखरा। पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।

सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम प्रतिस्पर्धीभन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरूबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको साख बचाएकी छन् ।

पोखराका कुल ३३ वटा वडामध्ये अब ३ वटा मात्र वडाको गणना बाँकी छ । ती वडाको गणना मंगलबार दिउँसो आइसक्ने यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए पनि मध्याह्नमा एक्कासि विवाद उत्पन्नपछि ७ घण्टासम्म यहाँको गणना रोकिन पुगेको थियो । पोखराले गत ३१ वैशाखदेखि मत गनिरहेकोमा ११ दिनसम्म पनि सकेको छैन । त्यसो त पोखराका पाँच पालिकामध्ये अन्य चार गाउँपालिकाको मतगणना सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिले पदवहाली गरिसकेका छन् ।

पोखरामा हालसम्म कांग्रेसले २१ वटा वडामा विजयी हासिल गर्दा एमालेले नौवटा वडा जितेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले पोखराको प्रमुख र उपप्रमुखसहित २२ वडामा जितेको थियो । त्यसैले पनि पोखरा एमालेको गढ मानिन्थ्यो । त्यसबेला कांग्रेसले ११ वटा वडा मात्र जितेकोमा अहिले एमालेभित्रै ‘अन्तर्घात’ हुँदा नतिजा उल्टिन पुगेको राजनीतिक विश्लेषक बताउँछन् ।

टिकटमा समाजवादीले अडान नछाड्दा कांग्रेस कास्कीका नेताहरू गठबन्धनबाट कांग्रेसलाई जसरी पनि मेयर टिकट दिनुपर्ने भनी पार्टी सभापति शेरबहादुर देउवा भेट्न पुगेका थिए । गठबन्धनमा जोड दिएका देउवाले अघिल्लोपटक पनि माओवादीसँग गठबन्धन हुँदा किन पराजित भएको भन्ने प्रतिप्रश्न गर्दै नाजवाफ फर्काएका थिए । देउवाले सो प्रश्नमा पोखराको कांग्रेसमा सामूहिकता छैन, अन्तर्घात गर्लान् भन्ने थियो । साथै लेखनाथ नगरपालिकालाई पोखरामा किन मिसाएको भन्ने थियो । अन्ततः स्थानीय चुनावमा गठबन्धन बनेपछि एकीकृत समाजवादीका धनराज आचार्य मेयर उमेदवार बनेका थिए ।

एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई भने यहाँको चुनाव जसरी पनि जित्नुपर्ने दबाब बन्यो । पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि यसलाई धेरै चासोका साथ लिएका थिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *