राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

एजेन्सी । अन्तिम ओभरमा डेभिड मिल्लरले लगातार तीन छक्का प्रहार गरेपछि गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरातले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

जीतसँगै गुजरात फाइनलमा प्रवेश गर्दा पराजित राजस्थानले भने फाइनल पुग्ने थप एक मौका पाउनेछ । अब बुधबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने इलिमिनेटरको विजेताले फाइनल प्रवेशको लागि राजस्थानसँग खेल्नेछ ।

जीतको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ९१ रन बनाउँदै लक्ष्य भेट्टायो । गुजरातको लागि डेभिड मिल्लरले सर्वाधिक ६८ रन जोडे । उनले ३८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । हार्दिक पाण्ड्यले २७ बलमा ५ चौका प्रहार गर्दै ४० रन बनाउँदा शुभ्मन गिल र माथेउ वेडले ३५/३५ रन जोडे ।
राजस्थानको लागि ट्रेन्ट बोल्ट र ओबेड म्याक्वेले एक/एक विकेट लिए ।

यसअघि इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । राजस्थानको लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाए । उनले ५६ बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्जु सामसनले २६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाउँदा देभदत्त पडिक्कलले २८ रन बनाए ।

गुजरातको लागि मोहम्मद शामी, याश डायल, रविस्रिनिभासम साइ किशोर र हार्दिक पाण्ड्यले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *