भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी छन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन्।

दाहाल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् । भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरे।

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *