इटहरीलाई देशकै नमूना बनाउने जनआन्दोलनका कमाण्डर सुब्बाको संकल्प

पूर्वकै एउटा महत्वपूर्ण केन्द्र मानिने इटहरीलाई देशकै नमूना वनाउने संकल्पका साथ एमाले इटहरीको तर्फबाट यामकुमार सुब्बा नगरप्रमुुख पदका उम्मेदवार हुन् । इमान्दार र स्वच्छ छविका सुब्बालाई एमालेभित्र मात्र होइन, इटहरीवासीले नै भावी मेयरका रुपमा हेरेका छन् । उनले इटहरीलाई डुवान, कटान र वाढीको समस्याबाट मुक्त वनाउने बताएका छन् । ढल निकासका लागि एमाले नेतृत्वको स्थानीय सरकारले सुरु गरेको अर्ब भन्दा बढीको प्रोजेक्टलाई पूरा गर्ने बताए । आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने उनको प्रतिवद्धता छ । मेयरसाव हैन जनताको सेवक बनेर जनताकै सल्लाह अनुसार इटहरीको विकास र समृद्धिको यात्रा अघि वढाउने सुब्बाको भनाई छ । उनी भन्छन्, “हामी इटहरीलाई सुशासनको नमूना वनाउछौं ।”

इटहरीको विकासका लागि दीर्घकालीन नीति वनाएर अघि वढ्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । सुविधा सम्पन्न सभाहल, आधुनिक क्रिकेट मैदान, विभिन्न ठाउँमा खुल्ला व्यायामशाला सहितका पार्क बनाउने एमाले इटहरीको योजना छ । इटहरी अस्पताललाई ट्रमा सेन्टरसहितको सुविधासम्पन्न अस्पताल बनाइने प्रतिवद्धता गरिएको छ । मेयरका उम्मेदवार सुब्बा २०१५ साल भदौ २७ गते ताप्लेजुङ जिल्लाको सान्थाक्रामा जन्मिएका हुन् । उमेरले उनी अहिले साढे ६३ वर्ष पुगे । पारिवारिक पृष्ठभूमि चिरपरिचित राजनीतिज्ञको रुपमा नभए पनि जुझारु स्वभावका सुब्बा कलिलै उमेरमा राजनीतितर्फ आकर्षित भएका थिए ।
के के पढ्नु भयो ?
यामकुमार सुब्बाले ताप्लेजुङको सदरमुकाम फुङ्गलिङस्थित अम्विटारमा रहेको भानुजन माध्यमिक विद्यालयबाट आधारभूत र माध्यमिक तहको अध्ययन पूरा गरे । २०३३ सालतिर भानुस्कुलमा अध्यनरत रहँदै उनी कम्युनिष्ट राजनीतितर्फ आकर्षित भए । १८ वर्षको उमेरमै सुब्बा भूमिगत राजनीतिमा संलग्न भए । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ गए । उनले नेपाल ल क्याम्पसबाट वीएल गरेका छन् । औपचारिक शिक्षाका समयमा मेधावि छात्रका रुपमा रहेका सुब्वाले विद्यालय र पाठ्यक्रमका पुस्तक मात्रै नभएर अन्य पुस्तक पनि मिहिनढंगले अध्ययन गरेका छन् । उनले विश्व कम्युनिष्ट आन्दोलनको प्रादुर्भाव, इतिहास, वर्तमान अवस्थाका विषयमा लेखिएका अनेकन पुस्तक, आर्थिक विकासका आयाममा परिवर्तनको खाका भएमा पुस्तक त्यही वेला पढे । यति मात्रै होइन उनी समसामयिक विषयमा पनि निक्कै दख्खल राख्छन् ।
४५ बर्ष लामो राजनीतिक यात्रा
उनको राजनीतिक यात्रा ४५ वर्ष भन्दा लामो छ । उनी २०३३ सालमा ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै राजनीतिमा होमिएका हुन् । सोही विद्यालयमा हुँदा उनले कलिलो उमेरमा नै बामपन्थी राजनीति र राजनीतिज्ञसँग सम्बन्ध विस्तार गरे । २०३४ सालमा काठमाडौँको नेपाल ल क्याम्पसमा अध्यनरत रहँदा अनेरास्ववियू इकाई कमिटी सदस्य भए । त्यहाँ हुँदा उनले विद्यार्थी राजनीतिलाई झन् नजिकबाट नियाल्ने अवसर पाए । जसले गर्दा उनलाई थप निखारता प्रदान गर्यो । यसका साथै बामपन्थी विद्यार्थी आन्दोलनलाई पनि नजिकबाट उनले स्पर्श मात्रै गरेनन् त्यसमा भिज्ने अवसर पनि पाए । त्यसको एक वर्षपछि अर्थात् २०३५ सालमा उनी नेकपा एमाले निकट जनसाँस्कृतिक उपत्यका मञ्चमा आवद्ध भए । सोही सालमा नै उहाँले काठमाडौँको मालिगाउँमा एमाले सदस्यताको कसम आएका थिए ।
२०३५ सालले उनलाई यति मात्रै अवसर दिएन । उनी २०३५ सालमा नै ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बने । यसले उनलाई कर्म जिल्ला र गृह जिल्लासँग सम्पर्कमा रहन थप सहयोग पुग्यो । जसले उनको राजनीतिक ‘करियर’लाई थप परिस्कृत गर्यो । इमान्दार तर जुझारु स्वभावका सुब्बा २०३६ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय रहे ।

‘अस्कल काण्डमा’ परेर १७ दिनसम्म उनले प्रहरी हिरासतमा बस्नुपर्यो । पञ्चायती कालरात्रीका समयमा हिरासतमा बस्नुपर्दा उनले देश र जनताको मुक्तिका लागि जीवनभर लड्ने कसम खाए । त्यसको दश वर्षपछि २०४६ सालको जनआन्दोलनमा नवीन जोश र उत्साहका साथ सहभागी भए । प्रजातन्त्र स्थापनापछि २०५६ सालमा उनले तत्कालीन इटहरी वडा नम्बर १ को ३ नम्बर टोल कमिटीको सचिव पदमा रहेर जिम्मेवारी वहन गरे ।

यस्तै २०५७ सालमा नै उनी १ नम्बर वडा कमिटी सदस्य बने । २०५८ सालमा उनी १ नम्बर वडा कमिटिको सचिव पदमा पुगे । उनले यो बीचमा पार्टी र इटहरी नगरका लागि थुप्रै योगदान गरे । उनले यही योगदानको उच्च कदर गर्दै पार्टीले २०६१ सालमा नगर सदस्य पद दियो । त्यसको एक वर्षमा २०६२ सालमा नै उहाँ नेकपा (एमाले) इटहरी नगर कमिटिको सचिव बने ।
जनआन्दोलनका कमाण्डर
कर्तब्यपथमा कहिल्यै नझुक्ने र नचुक्ने छवि वनाएका याम सुब्बा २०६२÷०६३ को जनआन्दोलनको एकजना कमाण्डर थिए । उनले संयुक्त संघर्ष समितिको सचिवको रुपमा रहेर जनआन्दोलनको नेतृत्व गरे । सो संघर्ष समितिबाट सक्रिय रुपमा जनआन्दोलनको नेतृत्व गर्दै गर्दा उनी १४ दिन प्रहरी हिरासतमा परे । पटक–पटक हिरासतमा पर्दा उनको निष्ठा झन् खारिँदै गयो । २०६६ साल नेकपा (एमाले) ले इटहरी नगरमा पाँचौँ नगर अधिवेशन गर्यो । सो अधिवेशनबाट उनी एमाले इटहरीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । त्यसको तीन वर्षपछि २०६९ सालमा छैटौँ नगर अधिवेशनबाट पुनः उनी नगर कमिटी अध्यक्षमा निर्वाचित भए । २०७१ सालमा इटहरी पनि नगरपालिकाबाट उपमहानगरपालिकामा परिणात भयो । इटहरी उपमहानगरपालिकाको उनी २०७१ सालमा पार्टीको संयोजक बने । त्यसको अर्को वर्ष अर्थात् २०७२ सालमा उनी नेकपा (एमाले) सुनसरीको सदस्य भए । २०७७ सालमा इटहरी उपमहानगर कमिटिको अध्यक्ष भए । त्यसपछि २०७८ साल कात्तिक ९ गते भएको पार्टी प्रथम इटहरी उपमहानगर अधिवेशनबाट पुनः सर्वसम्मत रुपमा नगरअध्यक्षको जिम्मेवारी पाए । उनी एमालेको आठौँ र नवौँ महाधिवेशन प्रतिनिधि पनि बने ।
सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय
आफ्नो पार्टीगत जीवनसँगै सामाजिक क्षेत्रमा पनि सुब्बाको उत्तिकै संलग्नता छ । विभिन्न संघ संस्थामा रहेर समाज सेवा गरिरहेका छन् । सुब्बा उद्योग वाणिज्य संघ इटहरीको सलाहकार हुन् । यसका साथै बुढी गंगाजमुना मुक्तिघाट समितिको पनि उनी सल्लाहकार हुन् । योसँगै उनी ताप्लेजुङ – सुनसरी मञ्चको हालसम्म चारकार्यकालसम्म अध्यक्ष बनेका छन् । यस्तै उनको जन्मस्थलमा रहेको र उनले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेको भानुजन माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्य पनि हुन् । उनी अहिले स्थायी रुपमा बसोबास गरिरहेको सदावहार टोल विकास संस्थाको सल्लाहकारसमेत हुन् । यसका साथै उनी इटहरी, सुनसरी र ताप्लेजुङमा रहेका अन्य सामाजिक, परोपकारी संघ संस्थाको विभिन्न पदमा रहेर सेवा गरिरहेका छन् । नवयुगबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *