स्वचालित पेसीको तयारी

काठमाडौं। सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।

समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताए ।

आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बजेट माग गर्ने निर्णय गरेको उनले बताए । स्वचालित पेसी प्रणालीमा मुद्दाका सम्पूर्ण जानकारी सफ्टवेयरमा अपलोड हुनेछ । सफ्टवेयरले नै मुद्दाको विश्लेषणसमेत गर्नेछ ।

यसरी गरिएको विश्लेषणका आधारमा हालको पेसी व्यवस्थापनजस्तै मुद्दाको वर्गीकरणसमेत हुनेछ । इजलासको क्षमता सङ्ख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ ।

कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्नेलगायतका जानकारी पनि सफ्टवेयरमै राखिनेछ । जसले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा मुद्दा जाने सम्भावना हुँदैन । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *