धरान हाँक्ने एमालेको बलियो आधार

चेतन अधिकारी, धरान । भेडेटारको फेदमा रहेको सुन्दर धरान नगर । कुनै बेला लाहुरेको सहर भनेर चिनिन्थ्यो । त्यो भन्दा पहिला पूर्वी पहाडको नुन किन्ने बजारको रुपमा चिनिन्थ्यो । सायद त्यो भन्दा पहिला चारकोशे झाडी भित्र पर्ने यो भूगोल धरान थापेर काठ काट्ने ठाउँको रुपमा थियो । त्यहाँ काटेका काठ तत्कालिन इष्ट इण्डिया कम्पनीले भारतमा रेलको लिक बनाउन लगेका थिए । त्यही ‘आरा धरान’ले कालान्तरमा पहाड मधेसको यो दोसाँधे भूगोललाई धरान नामको रुपमा परिचित गरायो ।

अन्त जस्तै यहाँ पनि वैशाख ३० गते हुने चुनावको चटारो चलेको छ । बहुदल आए देखि नै नेकपा एमालेले विजय हासिल गरेको यो नगरमा यसपालीको निर्वाचन कसले जित्ला हार्ला भन्ने हिसाब किताब जोडतोडले भइरहेको छ । २०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बा निर्वाचित हुनुभयो । मञ्जु उपमेयर । तर आफ्नो कार्यकालको दुईवर्ष विताउन नपाउँदै सुब्बाको असामयिक निधन भयो । सुब्बाको अभाव उहाँका उत्तराधिकारी उम्मेदवारले उपनिर्वाचनमा पुरा गर्न सक्नुभएन । अर्थात् त्यसबेला भएको निर्वाचनमा धराने मतदाताले अनौठो नतिजा दिए । सधैं वामपन्थी रुझानका यहाँका मतदाताले त्यो वर्ष नेपाली कांग्रेसका तिलक राईलाई मेयर बनाइदिए । ‘धरानको इतिहासमा यो अपवादपूर्ण परिणाम थियो’ ब्लास्ट टाइम्स दैनिकका प्रधानसम्पादक किशोर कार्की भन्नुहुन्छ, ‘यस अघिका कुनै पनि निर्वाचनमा यहाँका मतदाताले वामपन्थी बाहेकका दललाई रोजेका थिएनन् ।’

सर्वत्र चर्चा

धरान यस वर्ष दुई कारणले देशैभरी चर्चित छ । पहिलो कारण देशका ११ उपमहानगर मध्ये बाराको जीतपुर सिमरा र धरान उपमहानगरमा एमालेले महिला मेयर उठाएको छ ।

इतिहासमा नै धरानले पहिलो पटक मेयरमा महिलालाई पुर्‍याउने अवसर आएकोले दल भन्दा माथी उठेर यहाँका महिला मतदाता मञ्जुको पक्षमा लाग्ने महिला संस्थाका प्रतिनिधिहरु बताउँछन् । धरान र महिलाका रेकर्डका केही रमाइला संयोग पनि छन् । प्रतिनिधिसभामा पहिलो पटक उपसभामुख हुने महिला लिला श्रेष्ठ सुब्बा धराने हुनुहुन्थ्यो । ‘पोथी बास्नु पर्छ’ भन्ने कविता लेखेर महिला जागरणको विगुल फुक्ने कुन्ता शर्मा धराने हुनुहुन्थ्यो । त्यो इतिहासको निरन्तरता स्वरुप अर्की महिला नेतृ मञ्जु भण्डारीले धरानको मेयर बनेर नयाँ इतिहास बनाउनेमा धरानेहरु विश्वस्त छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य,सुनसरी जिल्लाकी सहइन्चार्ज मञ्जु विद्यार्थी राजनीतिबाट खारिएर आएकी नेतृ हुनुहुन्छ । महिलाको हक हितका लागि अनवरत संघर्ष गरेकी युवा नेतृ भण्डारी संविधानले गरेको व्यवस्था बमोजिम उपमेयरमा महिलाको प्रतिनिधित्व गरेर संसदीय पदमा प्रवेश गर्नुभएको हो । नेकपा एमालेले संविधानको उक्त व्यवस्था अक्षरश पालना गर्दै यसपालि मञ्जुलाई मेयर पदमा उम्मेदवार बनायो भने पदम लिम्बूलाई उपमेयरमा । ‘एमालेले क्रमागत नेतृत्व विकासलाई पनि प्राथमिकता दियो,संविधानको व्यवस्थालाई पनि पालना गर्‍यो र समावेशीतालाई पनि उतिकै महत्व दियो,’ धरानका एमाले नेता एवं सांसद जयकुमार राई भन्नुहुन्छ, ‘यो लाल किल्लाको उपमहानगरमा यसपाली एमालेले फेरि विजयको झण्डा फहराउनेछ । ’

गठबन्धनले संविधानको बर्खिलाप गर्दै कांग्रेसबाट मेयरमा किशोर राई र माओवादीबाट अइन्द्रविक्रम बेघालाई उपमेयरमा उम्मेदवार बनाएको छ । यसले आम धराने महिलाको गठबन्धनप्रति मोहभंग भएको छ । मुख्य दुवै पदमा पुरुष उम्मेद्वार देखेपछि काँग्रेसका अग्रज नेताका श्रीमतीले पनि पहिचानका लागि मञ्जुलाई भोट हाल्ने वचन दिएका छन् ।

कतिपयले भन्ने गरेका छन् धरानमा चुनाव जित्न राई लिम्बू उम्मेदवार चाहिन्छ । के एमालेले धरानका राई लिम्बूलाई उपेक्षा गरेको हो त ! इतिहासले त्यसो भन्दैन । धरानको इतिहासमा एमालेले राई लिम्बूलाई सधैं सम्मानका साथ संसदीय राजनीतिमा अघि बढाएको देखिन्छ ।

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा ध्यान बहादुर राईले एमालेले मेयर बनायो । २०५४ सालमा मनोज कुमार मेन्याङबोले मेयर बनायो । २०७४ मा तारा सुब्बालाई एमालेले मेयर बनायो । यसवर्ष क्षेत्री बाहुन समुदायकी महिलालाई मेयरका लागि अघि सारेको छ । अहिले उम्मेदवार बनाइएकी मञ्जु आरक्षणबाट मेयरमा पदमा उठाइएकी नभइ क्षमता र उपमेयर हुँदा पाँचवर्षको अनुभवले खारिएर आएको पार्टीको मूल्यांक भएको एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेको भनाइ छ । ‘एमाले महिला राष्ट्रपति बनाउने पार्टी हो । त्यसैले एमालेले पार्टीमा आएका अवसरहरुमा महिलालाई प्राथमिकतमा राख्छ । सबै उम्मेद्वारीमा पार्टीले सबै समुदायलाई न्याय गरेको छ,’ घिमिरेको भनाइ छ ।

मञ्जुको समावेशी टिम, चुनाव जित्ने दर्विलो आधार
धरानको उपमेयरमा लिम्बू समुदायका नेता पदम लिम्बूलाई बनाइएको छ । आदिवासी जनजातीको सहर भनेर चिनिएको यो उपमहानगरमा अधिकांस उम्मेद्वार जनजाती समुदाय कै छन् । निर्वाचन आयोगका अनुसार एमालेले धरानमा उम्मेद्वार दर्ता गराएकाहरुलाई जातीय रुपमा हेर्दा २० वटा वडा मध्ये १७ वटामा आदिवासी जनजाती समुदायका वडा अध्यक्षहरु छन् । त्यस मध्ये वडा नं १७ की वडा अध्यक्षकी उम्मेद्वार कल्पना शेर्पा त महिला हुनुहुन्छ ।

मेयर पदको आकांक्षी रहनु भएका एमाले नेता मोतीराज सुनुवारले धरानका एमाले उम्मेदवारहरुको जातीगत स्थितिको सानो झलक प्रस्तुत गर्नुभएको छ ।

२० वटा वडा भएको धरानमा एमालेका तर्फबाट १०२ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा राई २७ जना,नेवार १३ जना,तामाङ ७ जना,लिम्बू ५ जना,मगर ३ जना,गुरुङ २ जना,शेर्पा २ जना,सुनुवार १ जना,भूजेल १ जना, साह १ जना, दशनामी १ जना, दलित २१ जना र क्षेत्री बाहुन १८ जना उम्मेदवार छन् । संविधानले हरेक वडामा एकजना मात्र महिला अनिवार्य गरेपनि धरान एमालेले त्यसको दोब्बर संख्यामा महिला उम्मेद्वार उठाएको छ । ‘एमालेको तर्फबाट मेयर सहित ४० जना महिला चुनावी मैदान हुनुहुन्छ’ सुनुवार भन्नुहुन्छ ‘उम्मेदवारको समावेशी टिम हेर्न धरानको एमाले हेरे हुन्छ । समावेशी भएन भनेर मतदाता भड्काउने होइन तथ्यांक हेरेर बोलौं । अरु पार्टीले यतिको समावेशी टिम देखाउन त ?’

नवयुगबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *