काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा उत्रिएका छन् । अन्य महानगरपालिका भन्दा भरतपुर महानगरपालिकाको चुनावमा धेरैको चासो छ । किनपनि चासो छ भने माओवादी अध्यक्ष प्रचण्डले संसदीय निर्वाचनमा आफूलाई चितवनबाट विजयी गराउन भरतपुरमा माओवादीकै मेयर बनाउन खोज्नु हो । २०७४ सालको निर्वाचनमा मतपत्र च्यातेर अनेक हत्कण्डा अपनाएर माओवादीले मेयरमा जितेको थियो । त्यसैले पनि अहिलेको निर्वाचनमा के होला ? कुन उम्मेदवारले जित्ला भन्ने चासो हुनु स्वभाविकै हो ।
विगतमा पनि कांग्रेसले भरतपुरमा आफूलाई मेयर दिनुपर्ने अडान राखेको थियो र यसपटक पनि । तर पार्टी केन्द्रले चितवन कांग्रेसको मागलाई विगतमा पनि वेवास्ता गर्यो र अहिले पनि । त्यसैले गठबन्धनकातर्फबाट रेणु दाहाललाई उम्मेदवार बनाइएपनि कांग्रेसका नेता कार्यकर्ताले भोट हाल्छन् भन्ने छैन । दुवै पार्टीका मतदाताहरुले अनुशासितपूर्वक मतदान गरे भने यो तालमेलले सजिलै चुनाव जित्ने अवस्था छ ।
तर नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले मनोनयन गर्दा जुन खालको उपस्थिति देखियो त्यसलाई हेर्ने हो भने माओवादी केन्द्रकी रेणु दाहाललाई सहज छैन ।
यसैगरी एमालेका उम्मेद्वार विजय सुवेदी निकै लोकप्रिय र अनेक दाउपेचका रणनीति जानेको राजनीतिक खेलाडी हुन् ।
एमाले उम्मेदवार सुवेदी मनोनयनपत्र दर्ता गर्नुअघि नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्न पुगे । माओवादीबाट मारिएका परिवार तथा घाइते भएका कांग्रेसजनहरुको उल्लेख्य बसोबास रहेको भरतपुरमा एमाले उम्मेदवार सुवेदीले अपनाएको यो रणनीति अर्थपूर्ण छ ।
यसैगरी कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको उम्मेदवारी दर्ताका लागि कांग्रेस चितवनका पूर्वसभापतिहरू कृष्णलाल सापकोटा, टीकाराम न्यौपानेलगायत निकै ठूलो संख्यामा नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।
एकातिर भरतपुरमा एमालेलाई राप्रपाले पनि सघाएको छ भने अर्कातिर चितवनको निर्वाचनमा भेगीय नाराले पनि निकै प्रभाव पार्छ । चितवनमा धादिङ र गोरखाबाट बसाइँ सर्नेहरुको एउटा ठूलो समूह छ । त्यसबाट विजय सुवेदी मात्रै उम्मेदवार बनेका छन् ।
लमजुङ, कास्की र तनहुँको अर्को समूह छ । त्यताबाट कास्की जिल्लाकै रेणु दाहाल र जगन्नाथ पौडेल उम्मेदरवार बनेका छन् । रेणु दाहालको पुख्यौली ढिकुर पोखरी र जगन्नाथ पौडेलको पुख्यौली सल्यान करिव एक घण्टाको पैदल दुरीमा पर्छ । एकातिर भेगीय र अर्कोतिर कांग्रेसभित्रको असन्तुष्टिका कारण एमाले तिर भोट जाने सम्भावना बढी छ । अनि गठबन्धनभित्र कांग्रेसकै बागी उम्मेदवार उठेका कारण पनि एमालेका सुवेदीलाई सहज छ ।
