चर्चाका लागि काठमाडौंको मेयरमा उम्मेदवारी घोषणाको लर्को

काठमाडौं । स्थानीय तह निर्वाचन आउन एक महिना बाँकी रहँदा देशको राजधानी काठमाडौंको चुनावी माहौल तात्न थालेको छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार तय नगरेपनि साना र स्वतन्त्र उम्मेदवारी घोषणाले चुनावी माहौल विस्तारै तात्न थालेको हो । सत्ता गठबन्धन तालमेल गरी उम्मेदवार उठाउने तयारीमा छ भने एमाले पनि महानगरको उम्मेदवारका बारेमा आन्तरिक छलफलमा छ ।

तर साना दलहरु तथा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरुको भने ठूलै लर्को लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरले नेकपा एमाले नै मुलुकको पहिलो पार्टी भएको सन्देश दिएको थियो । त्यसैले अब के सन्देश देला त काठमाडौं महानगरले ? भन्ने चासो सर्वत्र छ । यसपटक मेयरका लागि नायक भुवन केसीदेखि गायक बालेन शाहसम्मले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै पूर्व प्रहरी अधिकृत रमेश खरेल पनि मेयरमा उठ्ने चर्चा छ । यसैगरी मिस नेवाः सुनिता डंगालदेखि मिस्टर नेपाल डा. सन्तोष उपाध्यायसम्मको नाम चर्चामा छ । नायक भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयरमा उठ्न लागेका हुन् । तर केसी अन्तिमसम्म मैदानमा टिक्छन् टिक्दैनन् भन्नेमा शंका छ । किनकी सेलिब्रेटीहरु सुरुमा उम्मेदवार  बन्ने भन्ने र अन्तिममा उम्मेदवारी नदिने गरेका प्रशस्तै उदाहरण छन् ।

रमेश खरेल पनि काठमाडौँको मेयर पदमा उठ्ने घोषणा गरेका छन् । प्रहरी सेवाबाट अवकाशपछि भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका खरेल नेपाल सुशासन पार्टीको अध्यक्ष समेत हुन् । सांस्कृतिक अभियान्ता सुसन बैद्यलाई सके नेपाली कांग्रेसको टिकट लिन र नसके स्वतन्त्र उमेद्वारी दिन नागरिक समाजका अगुवाहरुले दबाव दिएका छन् । नेपाली कांग्रेस नगरसमितिको सचिव रहेका कारण अभियन्ता बैद्य स्वतन्त्र चुनाव लड्ने सम्भावना छैन । गायक बालेन शाहको उम्मेदवारीलाई पनि युवा पुस्ताले सशक्त रुपमा अघि बढाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा मेयर पदमा रन्जु दर्शनाले २३ हजार मत पाएकी थिइन् । यसबाट पनि स्वतन्त्र उम्मेदवारी दिनेहरु उत्साहित बनेका हुनसक्छन् । २०४८ सालको निर्वाचनमा काठमाडौँका जनताले सन्त नेता कृष्णप्रसाद भट्टराइलाई हराएर मदन भण्डारीलाई जिताए झैं, २०६४ सालको निर्वाचनमा माधवकुमार नेपाललाई हराएर झक्कुप्रसाद सुवेदीलाई जिताए झैँ हुने कुरामा स्वतन्त्र तथा साना पार्टीको उमेद्वारहरु आशावादी छन् । तर ठूला पार्टीका मतदाताहरुले विद्रोह नगरेसम्म स्वतन्त्र तथा साना पार्टीका उमेद्वारहरु जतिसुकै योग्य भए पनि चुनाव जित्न भने सहज छैन । पञ्चायती व्यवस्थामा नानीमैया दाहाल र पद्मरत्न तुलाधरले चुनाव जितेको जस्तो सजिलो बहुदलीय व्यवस्थामा हुँदैन । दलहरुको संगठित भोट निर्णायक हुन्छ ।

यथार्थमा भन्नु पर्दा काठमाडौंको मेयर पदको क्रेज भनेको देशको राजधानी, करीब १९ अर्बको बजेट, देशका हरेक क्षेत्रका अगुवा, हुनेखाने, कुलीनको निवास, अन्तर्राष्ट्रिय चलखेल, आर्थिक, राजनीतिक र बहु आयामिक पहुँचको केन्द्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *