उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई निर्देशन दिएको छ ।

बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीन जनाको नाम माथिल्लो कमिटीमा लैजान केन्द्रीय कमिटीले निर्देशन दिएको जानकारी दिँदै माथिल्लो कमिटीले आवश्यकताअनुसार निर्णय गर्ने बताए ।

वडा अध्यक्षको सिफारिस वडा कमिटीले र पालिका प्रमुख तथा उपप्रमुखको सिफारिस पालिका कमिटी तथा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले गर्ने मापदण्ड तय भएको छ । त्यस्तै, महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुखको सिफारिस जिल्ला र प्रदेशले गरेपछि केन्द्रबाट निर्णय गर्ने तय भएको रिजालले बताए।

पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको ढोका बन्द नभए पनि त्यो स्थानीय आवश्यकताअनुसार हुने तर राष्ट्रिय नीति नहुने जिकिर गर्दै रिजालले एमाले एक्लै चुनाव जित्न सक्षम रहेकाले तालमेलको बारेमा केन्द्रीय कमिटी बैठकले कुनै निर्णय नगरेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *