टोकियो । दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्मा मात्र सीमित नरहेको देखाएको छ ।
सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति थिए । अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन् ।
२७ वर्षीय चर्चले च्याटजीपीटी निर्माता ओपनएआईको पछिल्लो मोडेल प्रयोग गरेर छ घण्टामै उक्त सङ्केत खुलाएका थिए । परम्परागत विधिबाट यस्तो काम गर्न हप्तौँ लाग्न सक्ने उनको भनाइ छ ।
अमेरिकी साइबर सुरक्षा कम्पनी सेन्टिनेलवनमा कार्यरत चर्चले सङ्केत खोल्ने प्रविधि वा त्यस समयको इतिहासबारे आफूलाई धेरै जानकारी आवश्यक नपरेको बताए । केही साँझको प्रयासपछि उनले जापानी पेटेन्ट इन्जिनियर सातोसी टोमोकियोसँग परामर्श गरेका थिए । टोमोकियोले समाधान नभएका पुराना सङ्केतहरूको अनलाइन सूची राख्दै आएका छन् ।
चर्चका अनुसार एआईको प्रमुख विशेषता निरन्तर प्रयास गर्ने क्षमता हो । सन्देशको रहस्य खुलेपछि आफूले ठूलो सन्तुष्टि र उत्साह अनुभव गरेको उनले बताए ।
टोमोकियोले आफ्नो वेबसाइट ‘क्रिप्टियाना’ मा सन् २०२६ लाई ऐतिहासिक सङ्केतहरूको रहस्य खोल्ने काममा निर्णायक वर्षका रूपमा सम्झिइने उल्लेख गरेका छन् । उनका अनुसार सेप्टेम्बरको मध्यदेखि आफ्नो सूचीमा रहेका अधिकांश सङ्केत एआईको सहायताले समाधान भइसकेका छन् ।
अनुसन्धानकर्ताहरूले यसअघि नै पुराना सङ्केत खोल्न एआई मोडेल विकास गरिरहेका थिए । तर, शक्तिशाली सामान्य प्रयोजनका एआई उपकरण सार्वजनिक भएपछि समाधान भएका सङ्केतको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चर्चले ओपनएआईको जीपीटी–६ एस्ट्रा प्रयोग गर्नुभएको थियो भने अन्य अनुसन्धानकर्ताले अमेरिकी कम्पनी एन्थ्रोपिकका एआई उपकरण प्रयोग गरेका छन् ।
टोमोकियोले कठिन सङ्केतहरूमध्ये केही अझै रहस्यकै रूपमा रहने बताएका छन् । समाधानका लागि उपयोगी तथ्याङ्क कम भएका कारण ती सङ्केत खोल्न आगामी वर्षहरूमा पनि चुनौती हुन सक्ने उनको भनाइ छ ।
लामो समयदेखि अड्किएका समस्या समाधान भएकोमा आफू उत्साहित भए पनि एआईले ती समस्या सजिलै समाधान गरेको देख्दा मिश्रित भावना उत्पन्न भएको उनले बताए । एक सहकर्मी सङ्केतविद्ले त एआईका कारण आफूलाई बेकार महसुस भएको प्रतिक्रिया दिएको उनले सुनाए ।
गणितदेखि कम्प्युटर प्रोग्रामिङसम्म एआईले मानिसको क्षमता उछिनिरहेको अवस्थामा यसले रोजगारीको स्वरूप बदल्ने वा केही काम विस्थापित गर्ने चिन्ता पनि बढेको छ । तर, इतिहासको अध्ययनमा भने यसले नयाँ सम्भावना खोलेको छ । पुराना कागजातका सङ्केत खुलाउनेदेखि लाखौँ मध्ययुगीन पाण्डुलिपि विश्लेषण गर्ने र प्राचीन ग्रन्थ पढ्ने काममा एआई उपयोगी बनेको छ ।
इटालीमा अनुसन्धानकर्ताहरूले सन् ७९ मा भिसुभियस ज्वालामुखी विस्फोट हुँदा जलेर कार्बनमा परिणत भएका हर्कुलानियमका पपाइरस ग्रन्थ अध्ययन गर्न एक्स–रे र एआई प्रयोग गरिरहेका छन् । क्षति हुने जोखिमका कारण हातले खोल्न नसकिने सयौँ ग्रन्थमध्ये एउटा ग्रन्थलाई पूर्ण रूपमा भर्चुअल विधिबाट खोलेको घोषणा अनुसन्धानकर्ताहरूले जुनमा गरेका थिए । त्यसमा नैतिकतासम्बन्धी ग्रन्थ रहेको पुष्टि भएको थियो ।
त्यसैगरी, हिब्रू पाण्डुलिपिका एक करोड पृष्ठ प्रतिलिपि गरी यहुदी इतिहास र संस्कृतिका दुर्लभ स्रोत समेटिएको खोज्न मिल्ने विशाल अभिलेख तयार गर्न एआई प्रयोग भइरहेको छ । पेरिसस्थित इकोल प्राटिक दे ओत एतुदका परियोजना प्रमुख डेनियल स्टोक्ल बेन एज्राका अनुसार यति ठूलो परिमाणको तथ्याङ्क मानिसले एक्लै प्रशोधन गर्न सक्दैन ।
डिजिटल अभिलेखबाट तयार हुने तथ्याङ्कको भण्डारलाई उनले ‘विगतको विशाल फेसबुक’सँग तुलना गरेका छन् । यसबाट इतिहासमा मानिस, स्थान र विचारबिच रहेका सम्बन्ध पत्ता लगाउन सकिने अनुसन्धानकर्ताहरूको अपेक्षा छ ।
फ्रान्सको राजधानी पेरिसस्थित नोट्रडाम गिर्जाघरमा पनि एआई प्रणालीलाई मध्ययुगीन अभिलेखका १४ हजार ६०० ल्याटिन पृष्ठ प्रतिलिपि गर्न प्रशिक्षित गरिएको छ । यस परियोजनाले पुराना सङ्केत खोल्ने कामजस्तै जटिल ऐतिहासिक अभिलेख अध्ययन गर्न सघाएको छ ।
परियोजनाको नेतृत्व गरिरहनुभएकी इतिहासकार जुली क्लाउस्ट्रेका अनुसार ती अभिलेख मध्ययुगीन नोटरीहरूले निर्णयलाई छोटकरीमा लेखेका प्रशासनिक दस्तावेज हुन् । तिनमा प्राविधिक शब्दावली र जटिल लेखन शैली प्रयोग गरिएको छ ।
एआई प्रणालीले अक्षर पहिचानमा ८८ देखि ९४ प्रतिशतसम्म सफलता हासिल गरेको छ । यसबाट गिर्जाघरको दैनिक जीवन, निर्माण कार्य, कर्मचारी र परित्यक्त बालबालिकाको हेरचाहसम्बन्धी जानकारी फेला परेको छ ।
यस्ता अभिलेख हातैले प्रतिलिपि गर्न धेरै दशक लाग्ने क्लाउस्ट्रेले बताए । उनका अनुसार एआईको महत्त्व समय बचतमा मात्र सीमित छैन । यसले पहिले सम्भव नभएका प्रश्नमा अनुसन्धान गर्न सहयोग पुर्याउँदै इतिहास अध्ययन गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ ।
