चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले चुनाव लड्न स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री र मन्त्रीहरुले प्रतिनिधिसभा चुनाव लड्दा पद खाली गर्न नपर्ने तर स्थानीय जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न अगावै पदबाट राजीनामा दिनुपर्ने भन्दै आपत्ति जनाएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ उल्लेख छ ।

रिमालले भने,‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधामन्त्री’, पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ? निर्वाचनमा जाँदा पद्को दुरुपयोग नहोस् सोच्नुपर्ला। तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ?’ उनले कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर अवधि सकिनु दुई महिनाअघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचार संहितामा किन राख्ने ? भन्दै प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *