साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार बेलुकी भएको खेलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित भएको हो ।

जम्शेदपुरमा भएको खेलमा बंगलादेशलाई जीत दिलाउन अफिदा खानडेकर, अक्लिमा खातुन, इती खातुन र शाहदा अक्तर रिपाले एक/एक गोल गरिन् । नेपालको लागि दीपा शाही र अमिशा कार्कीले एक/एक गोल फर्काइन् । खेलको पहिलो मिनेटमै अफिदा खानडेकरले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

३० औं मिनेटमा दीपा शाहीले सुन्दर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याइन् । ३३ औं मिनेटमा अक्लिमा खातुनले गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।
३४ औं मिनेटमा इती खातुनले डि-बक्स एरिया बाहिरबाट गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् ।

यस्तै ४३ औं मिनेटमा नेपाली गोलकिप्पर सावित्रीको गल्तीको फाइदा उठाउँदै शाहदा अक्तर रिपाले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा ४-१ गोलको अग्रता दिलाएकी हुन् । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिशा कार्कीले गोल गरेपनि नेपालको हार टार्न पर्याप्त रहेन ।

यस हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । जीतसँगै बंगलादेश ३ अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ । समान अङ्क जोडेको भारत शिर्ष स्थानमा छ भने दुवै खेलमा पराजित नेपाल पुछारमा छ ।

पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *