आज होलीः बिहानैबाट मापसे चेकिङ

काठमाडौं, चैत ३ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ ।

महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने जनाएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरिएको भनेको छ ।

होलीको पूर्वसन्ध्यामा बुधबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले होली पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउन ट्राफिक व्यवस्थापन कडा बनाउन सबै ट्राफिक एकाइ तथा इन्चार्जलाई निर्देशन दिएका छन् ।

‘होली पर्वमा सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि तथा उपकरणको समुचित उपयोग गर्नेगरी ट्राफिक प्रहरी परिचालन गरिनेछ,’ महाशाखाका प्रमुख एसएसपी जोशीले भने ।

महाशाखाले बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *