एआईजीमा भागबन्डा : आईजीको दौडमा अब चार एआईजी

काठमाडौं । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् ।

मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । पन्त र सिंह कांग्रेसको कोटाबाट सिफारिसमा पर्दा धानुक भने माओवादी केन्द्रको जोडबलबाट बढुवा सिफारिसमा परेका हुन् ।

मन्त्रिपरिषद् बैठकमार्फत यो सिफारिस सदर भए अब नेपाल प्रहरीको आगामी नयाँ प्रहरी महानिरीक्षक (आईजी)को दौडमा चार एआईजी हुनेछन् ।मन्त्रिपरिषद् बैठकले एक साताभित्र उनीहरूलाई बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् ।

तर, एआईजीका लागि सिफारिसमा परेका पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीकै ब्याची भएका कारण उनी थापासँगै ३० वर्षे सेवा अवधि पूरा गरेर १९ वैशाख २०७९ मा अवकाशमा जाँदैछन् ।

हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ६ एआईजी छन् । यो प्रस्ताव स्वीकृत भएमा एआइजी तहमा प्राविधिकसहित नौ दरबन्दी हुनेछ । थपिने पद साधारण सेवातर्फ हुनेछ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *