काठमाडौं । सत्ता गठबन्धनमा सहभागी पाँच दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा सरकारले संसदमा पेश गरेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ अनुमोदन गर्नेबारे निर्णय हुने जनाइएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले एमसीसीबारे सकारात्मक निश्कर्ष निकाल्ने दाबी गरेका छन् । आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ। बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची छ।
‘गठबन्धनको बैठक फेरि बस्दैछ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ ।’ मन्त्री कार्कीले भने । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तालाई संसद्को गतिरोध अन्त्यको लागि भएको पनि स्पष्ट गरेका छन् ।
हिजो शनिबार राति खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलपछि दाहाल–नेपाल लचिलो देखिएका छन् ।
देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची रहेको छ । सरकारले विवादकाबीच गत आईतबार (फागुन ८ गते) बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको लागि टेबुल गरिसकको छ ।
सरकारको तर्फबाट मन्त्री कार्कीले नै उक्त प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरेका थिए ।