आजै जसपाका मन्त्री हटाउने रणनीतिमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ। स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन्।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलाई सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बिनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ। स्रोतले भन्यो, ‘जसपाका मन्त्रीहरूले आफैं राजीनामा गरून् भन्ने प्रधानमन्त्रीको चाहना हो। यसका लागि प्रधानमन्त्रीज्यूले बुधबारसम्म पर्खनुहुनेछ। बिहीबारसम्म जसपाका मन्त्रीहरूले राजीनामा गरेनन् भने केही कदम चाल्ने प्रधानमन्त्रीको सोच छ।’

प्रधानमन्त्री देउवाले यसका लागि सोमबार नै मुख्य सचिवलाई आवश्यक कानुनी प्रक्रिया बुझ्न निर्देशन दिएका थिए। ‘प्रधानमन्त्रीले मुख्य सचिवलाई कानुनविद्, महान्याधिवक्ताको कार्यालय र निर्वाचन आयोगसँग तत्काल परामर्श गर्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार बिहीबारभित्र यो विषय टुंग्याउन प्रधानमन्त्री देउवा आतुर छन्।

‘सकभर बर्खास्त गर्ने तर निर्वाचन आयोगले हटाउन हुँदैन भन्यो भने बर्खास्त नगरेर बिनाविभागीय मन्त्री बनाएर राख्ने प्रधानमन्त्रीको तयारी छ,’ स्रोतले भन्यो। मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस विषयमा पनि छलफल गरेका थिए।

जसपाबाट सरकारमा गएका मन्त्रीहरूमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह छन्। आफ्नो दल सत्तारूढ गठबन्धनबाट बाहिरिए पनि यी मन्त्रीहरू भने सरकारमै बस्न खोजिरहेका छन्। निर्वाचन आयोगको आचारसंहिताअनुसार यी मन्त्री हटाइए भने पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्ति गर्न पाउने सम्भावना छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *