‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता, निष्पक्ष निर्वाचनप्रति संशय

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन्।

संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न पक्षसँगको भेटघाट र परामर्शलाई तीव्र बनाएकी राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरूसँग छलफल थालेकी हुन्।

सोमबार सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँग राजनीतिक परामर्श गरेकी उनले केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल र विभिन्न पक्षसँग छलफल गरिसकेकी छन् ।

सरकारप्रति निकै असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन्।

तत्कालीन केपी ओली नेतृत्व सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा शपथ गराउन आदेश गराएदेखि नै वर्तमान सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट छिन्। देउवालाई प्रधानमन्त्रीको शपथपछि औपचारिकतासमेत पूरा नगरेकी राष्ट्रपतिको आक्रोश पछिल्लो भेटघाटहरूमा पनि झल्कने गरेको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका कारण मुलुक संकटमा फस्दै गएको भन्दै राष्ट्रपतिले धेरैजसो समय सरकारको आलोचनामै खर्चनेको भेटमा सहभागी एक नेताले बताए। ‘देश नै रहेन भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीति भन्ने नै रहँदैनन्,’ राष्ट्रपतिलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मुलुकको अवस्था निकै कमजोर बन्न पुगेको छ, पहिला देश जोगाऔं ।’

आफू आन्दोलन र क्रान्तिबाट आए पनि संवैधानिक राष्ट्रपतिका रूपमा आफ्नो भूमिका केही नभएको बताउँदै भण्डारीले राजनीतिक दलहरू मुलुकको राष्ट्रियताको संरक्षणका लागि एकजुट हुनुपर्ने धारणा राखेकी छन्। नागरिकता विधेयक पनि सोहीअनुरूप आउनुपर्ने आशय उनले व्यक्त गरेको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए।

देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेमा राष्ट्रपति भण्डारी सशंकित देखिएकी छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *