३५ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा

काठमाडौं । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालू आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ ।

चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *