विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो

काठमाडौं। अन्ततः बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति ल्याइएको बताए । ‘पुनर्बीमासम्बन्धी यसअघिको निर्देशिका विवादमा परेपछि मेरै संयोजकत्वमा एक अध्ययन समिति बनेको थियो । सोही समितिको प्रतिवेदनपश्चात् केही लचिलो नीति ल्याएका छौं,’ उनले भने, ‘अब पनि बीमा कम्पनीहरूले स्वदेशी पुनर्बीमा कम्पनीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर, विदेशमा पनि पुनर्बीमा गर्न पाउने व्यवस्था गरिएको छ ।’

पहिला त पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरेबमोजिमको प्रत्यक्ष अंशबापतको व्यवसाय कुनै पनि हालतमा स्वीकार गर्नुपर्छ । पहिला स्वदेशी पुनर्बीमा कम्पनीले प्रत्यक्ष अंशअन्तर्गत जोखिम कम हुने व्यवसाय मात्र लिने गरेका थिए । त्यसपछि समितिले यस्तो निर्देशन जारी गरेको हो ।

यस्तै, बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष अंशबाहेकमा प्रथम वर्ष कम्तीमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्तीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमकलाई दिनुपर्नेछ । त्यसबाहेकको पुनर्बीमा भने विदेशी कम्पनीमा पनि गर्न सकिने बताइएको छ ।

यद्यपि, यात्रा तथा स्वास्थ्य बीमाबाहेक मोटर बीमा, कृषिबीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन छ । त्यसअनुसार कम्पनीहरूले यात्रा तथा स्वास्थ्य बीमाको पुनर्बीमा विदेशी कम्पनीमा गर्न सक्नेछन् । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *