६० करोड खर्चेर केशर महल पुनर्निर्माण गरिँदै

काठमाडौं । विगतमा सरकारी निकायहरूले केशर महलको प्रयोग लापरबाही ढङ्गले गरेको पाइएको छ । कोठाभित्रका भित्तामा निरन्तरको पानीले लेउ जमेको छ, कुनै भ-याङ सद्दे छैन । भुइँमा ओछ्याइएका काठ पनि सग्ला छैनन् । छत (फल्ससिलिङ) बिग्रिएका छन् ।

पुनर्निर्माणका क्रममा गारो र भित्तामा निकै खराबी फेला परेको प्राविधिकले बताएका छन् । प्राविधिकका अनुसार केशर शमशेरका पालाका बिजुलीबत्तीका सामग्री एउटा पनि सग्लो पाइएन । भित्ता र कोठाभित्रका डिजाइनयुक्त खम्बामा कुँदिएका कला टुटफुट अवस्थामा रहेका छन् ।

पुनर्निर्माणको परामर्शदाता कम्पनी जेएसए–पीडीए–एसडब्लूएन–जेभीका आवासीय इन्जिनियर आकाशकुमार शाहले भने, “नियमित मर्मत सम्भार गरिएको देखिएन । यत्रो भवनको प्रयोगमा लापरबाही देखियो । ”

६० करोड रुपियाँ खर्च गरेर केशर महलको पुनर्निर्माण गरिँदैछ । इन्जिनियरहरूका अनुसार भवनलाई नियमित सम्भार गरिएको भए २०७२ सालको भूकम्पले धेरै क्षति गर्ने थिएन भने पुनर्निर्माण गर्दा धेरै सामग्री फेर्नुपर्ने अवस्था पनि हुँदैनथ्यो । यसले गर्दा पुनर्निर्माण खर्च घट्न सक्थ्यो ।

विगतमा केशर पुस्तकालयबाहेक शिक्षा मन्त्रालय र त्यस मातहतका केही निकाय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग आदि लामो समयसम्म त्यहाँ रहेका थिए । भूकम्पपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय रहेका थिए ।

केशर महलका दलिन र भुइँमा अधिकांशतः सल्लाको काठ प्रयोग भएको पाइएको छ । ती प्रायः मक्किइसकेकाले सालको नयाँ काठ प्रयोग गरिँदैछ । पुराना काठलाई अस्थायी टहरोमा भण्डारण गरिएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *