तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै आज बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो ।
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । “जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा लामो समयपछि हिमपात भएको छ । यसभन्दा अगाडि धेरै वर्ष पहिला हिउँ परेको थियो ।”, उनले भने । उनको अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ ।
“बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ । यसभन्दा पहिला पनि हल्काहल्का पर्ने गरे पनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ”, गुरुङले भने । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।
