तीन अर्बले बढ्यो बैंकहरूको नाफा

काठमाडौं । कोरोना महामारी तथा पर्याप्त तरलता अभावबीच वाणिज्य बैंकहरूको खुद नाफा करिब तीन अर्ब रूपैयाँले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका २७ बैंकहरूको नाफा ३४ अर्ब २१ करोड ६ लाख रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ती बैंकहरूले करिब ३१ अर्ब ७ करोड ३२ लाख रूपैयाँ खुद नाफा गरेका थिए। यद्यपि पछिल्ला वर्षमा बैंकहरूको पुँजीको तुलनामा नाफा भने घट्दै गएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने बैंकमा ग्लोबल आइएमई रहेको छ। अघिल्लो वर्षको ६ महिनामा दुई अर्ब ३१ करोड रूपैयाँ खुद नाफा गरेको उक्त बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुई अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गरेको छ।

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नबिलले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको ६ महिनामा एक अर्ब ७५ करोड रूपैयाँ नाफा गरेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको ६ महिनामा एक अर्ब ९२ करोड रूपैयाँ खुद नाफा गरेको छ। त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा करिब पौने दुई अर्ब रूपैयाँभन्दा बढी नाफा गरेको एनएमबि बैंक पनि नाफा कमाउने प्रतिस्पर्धामा अग्रस्थानमा रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *