कात्तिक लागेपछि घट्न थाल्यो निक्षेप

काठमाडौं । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको पहिलो सातादेखि निरन्तर घटिरहेको छ ।

तिहार, छठलगायत ठूला चाडपर्व र चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप घट्न थालेको बैंकरहरूको अनुमान छ । चुनावपछि यो रकम विस्तारै बैंकिङ प्रणालीमा फर्किने र तरलता अभावमा राहत हुने उनीहरूको अपेक्षा छ ।

संघका अनुसार कात्तिक १ देखि ७ गतेसम्ममा ६ अर्ब २४ करोड रुपैयाँ निक्षेप घटेकोमा कात्तिक ८ देखि ११ गतेसम्ममा १७ अर्ब १३ करोड रुपैयाँ घटेको छ ।

असोज महीनाभरिमा वाणिज्य बैंकहरूको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँ बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो । कात्तिक ११ गतेसम्ममा उक्त रकम ४५ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । यसअघि साउनमा बैंकहरूको निक्षेप घटे पनि भदौमा भने ५२ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको संघले जानकारी दिएको छ ।

दशैंअघि बैंकहरूको निक्षेप घटे पनि दशंैलगत्तै पुनः बैंकिङ प्रणालीमा फर्किन थालेको थियो । तर, मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी चहलपहल शुरू भएपछि कात्तिकको २ सातामै २३ अर्ब ३७ करोड रुपैयाँ घटिसकेको छ । कात्तिकमा तिहार तथा छठपर्वका कारण पनि निक्षेप घटेको बैंकरहरूको अनुमान छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *