काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन जारी रहेको छ । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ । यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।
विरोध कार्यक्रममा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीको आन्दोलन न्यायालयमा गति प्रदान गर्नका लागि भइरहेको बताए । अधिवक्ता शर्माले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउँदै जबराको राजीनामासँगै न्यायलय स्वच्छ बनाउने अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘हाम्रो आन्दोलन न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो । न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको हो ।’
विरोध कार्यक्रममा अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोला प्रथाको सुरुआत गर्न सहयोग गरेको धारणा राखे । उनले न्यायपालिकाभित्रको विकृति, विसंगति र त्योभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मूलन गर्नका लागि, निरुत्साहित पार्न आन्दोलन भइरहेको पनि बताए ।
नेपाल बारको आन्दोलनले केही उपलब्धि हासिल गरिसकेको दाबी गर्दै अधिवक्ता सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।