इ–पासपोर्टका लागि रातभरि लाम

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाका राम तामाङ राष्ट्रिय परिचयपत्र नम्बर लिन तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौं धाइरहेका छन्।

उनी टोकन लिन लाइनमा बस्छन् तर पालो आउनुअगाबै टोकन सकिन्छ। शुक्रबार जिल्ला प्रशासन परिसरमा भेटिएका तामाङले बिहान ४ बजेदेखि लाइन लाग्दा पनि टोकन नपाएको गुनासो गरे। ‘कोही अघिल्लो दिन राति १० बजेदेखि नै लाइन लाग्दा रहेछन्। बिहान ४ बजे लाइन लाग्नेले के पाओस् टोकन’, उनले भने। पुसको चिसोमा बिहान ४ बजेदेखि लाइन लाग्नु चानचुने कुरा होइन।

बिहान टोकन नपाएकाहरू केही उपाय लाग्छ कि भनेर दिउँसो पनि जिल्ला प्रशासन पुग्ने गर्छन्। त्यहाँ पुगेपछि सोधपुछ शाखामा सम्पर्क राख्छन्। त्यहाँका कर्मचारीले सधैं भन्ने गर्छन्, ‘टोकन सकियो। भोलि बिहानै आएर लाइन लाग्नुहोस्।’ यही क्रममा तामाङ भेटिएका थिए। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभर एक दिनमा करिब १ हजार २ सय टोकन दिने गरेको विभागले जनाएको छ।

तीमध्ये काठमाडौंमा मात्र दैनिक ३ सय टोकन बाँड्ने गरिएको छ। एक दिनमा बाँडिने १ हजार २ सय टोकन विदेश जान लाइन लागेका सेवाग्राहीलाई पर्याप्त हुँदैन। त्यसैले राष्ट्रिय परिचयपत्र नम्बर लिन र विद्युतीय पासपोर्ट बनाउन युवाले ठूलो सास्ती भोग्नुपरेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *