चीनतर्फका नाका पुनः सञ्चालनमा

काठमाडौं। । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुनः सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन ।

बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार ४ फीट अग्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका झन्डै सयओटा कन्टेनर भने न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् । हिमपात कम भएसँगै ती नेपालतर्फ लोड गरेर ल्याइनेछ ।

यसअघि चीनका खासा र न्यालम क्षेत्रमा बाक्लो हिउँ पर्दा तातोपानी नाका बन्द थियो । शुक्रवारबाट भने कन्टेनर आवतजावत गर्न थालेका हुन् ।

त्यस्तै, हिमपातसँगै सुक्खा पहिराका कारण अवरुद्ध रसुवागढी नाका पनि सञ्चालनमा आएको छ । स्याफ्रुबेंशी–रसुवागढी खण्डको राजमार्गमा रहेको अवरोध हटाइएसँगै शुक्रवारदेखि नै पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुवाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेको स्थानीय प्रशासनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *