भारतीय मजदुरको हुँदैन कोरोना जाँच

नेपालगञ्ज। नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् ।

बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा खाना बोकेर नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्ज औद्योगिक क्षेत्र, इँटाभट्टा, भवन र सडक निर्माणका लागि दैनिक सयौं भारतीय मजदुर नेपालगञ्ज आउँछन् ।

भारतबाट आउने यी मजदुरको नाकामा कोरोना जाँच हुँदैन । भारतमा ओमिक्रोनको संक्रमित बढिरहँदा भारतबाट आउने मजदुरले जोखिम बढाएका छन् । भारतबाट आउने नेपालीको जाँच भएको जसरी दैनिक मजदुरीका लागि आउने भारतीय नागरिकको पनि कोरोना गर्न आवश्यक देखिन्छ ।

बिहान खाना बोकेर आउने र साँझ फर्किने भारतीय मजदुरको संख्या ठूलो रहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्रका उद्योगहरूमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक रहेका छन् । उनीहरू बिहान आउँछन् र काम गरेर साँझ घर फर्किन्छन् ।

मंगलबार नेपालगञ्ज नाकामा दाङ तुलसीपुरको इँटाभट्टा र स्वर्गद्वारी तीर्थ जान थालेका तीन जना भारतीयलाई कोरोना देखिएपछि भारतबाट दैनिक मजदुरी गर्न आउनेले नेपालमा कोरोनाको जोखिम बढाएको पुष्टि गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *