पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले गृहमन्त्री खाँणले संविधानसभाबाट बनेको बर्तमान संविधानलाई सबै राजनीतिक दल मिलेर सफल बनाउँदै अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक पार्टीसँग पनि सरकारले संवादका माध्यमबाट मुलुकमा शान्तिसुरक्षा र अमनचयन स्थापना गर्ने तथा संविधानलाई सबैले अपनत्व गर्नसक्ने बनाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन समयमै सम्पन्न हुने उनको भनाइ थियो । अमेरिकी सहयोग परियोजना(एमसीसी) सबै राजनीतिक दलबीचको सहमतिमै अगाडि बढाइने उनले उल्लेख गरे । नेपाल सरकारले नै जलविद्युत् परियोजना र सडक पूर्वाधारका लागि एमसीसी प्रस्ताव गरेको बताउँदै उनले सो अनुदान सहयोगको सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरे ।
उनले भने, “एमसीसी देश र जनताका लागि हो, राष्ट्रिय सहमतिको प्रयत्न गर्दै सबैले मिलेर यसलाई अघि बढाउँछौँ । सहमतिका आधारमा नेपालमा धेरै कुरा भएका छन् । यसमा पनि सहमति हुन्छ ।”
हालै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी कार्यकर्ता र शुभचिन्तकमा सकारात्मक सन्देश गएको उल्लेख गर्दै मन्त्री खाँणले कतिपय स्थानीय पालिकाको अधिवेशनमा स्थानीय तहको निर्वाचनको झल्को दिएको र सकारात्मक चर्चा पाएको उल्लेख गरे । ।
