तिहारमा २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, चन्दा दिन बाध्य पार्न नपाइने

काठमाडौं । सरकारले तिहारमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले देउसी–भैलो कार्यक्रम सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले सोमबार पत्राचार गर्दै नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

मन्त्रालयले देउसी–भैलो कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्ने भन्दै कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पारेको छ ।
त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका अश्लील नृत्य, गीत, संगीत तथा नारा प्रयोग गर्न नदिन पनि प्रशासनलाई निर्देशन दिइएको छ ।

तिहारका बेला जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारीसाधन नचलाउने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम प्रयोग नगर्न तथा अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ । यसैगरी, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले निर्देशन दिएको छ ।

देउसी–भैलो खेल्ने वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा प्रहरी नियन्त्रण कक्ष १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) १२३४ मा सम्पर्क गर्न नागरिकलाई जानकारी गराउनसमेत मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *