दलहरुसँगको परामर्शपछि मात्र एमसीसी अघि बढ्छः सहमहामन्त्री परियार

कास्की । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसिसी संसद्बाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा सहमहामन्त्री परियारले सबै दलसँग परामर्श गरेर संसद्बाट पारित हुने गरी छलफल गरेरमात्र कांग्रेसले एससीसीको प्रस्ताव अघि बढाउने बताएका हुन् ।

उनले भने “नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेसले अगाडि बढ्छ ।”

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मुल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए । उनले भने, “अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र साङ्गठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्य समितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।”

पार्टीभित्र विचारको बहस आवश्यक रहेकामा जोड दिँदै परियारले त्यो विचारको बहस विना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *