यात्रा प्रतिबन्ध लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ ।

दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भाइरस एक दर्जनभन्दा बढी मुलुकमा फैलिएपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो ।

सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, श्रम र शिक्षा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीको समेत सहभागिता रहेको उक्त बैठकमा अधिकांशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामको आलोचना गर्दै तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

उनीहरूले जनताले स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन गर्न नसकेको र स्वास्थ्य परीक्षणको दायरा घटाएको भन्दै स्वास्थ्य मन्त्रालयको आलोचना गरेका थिए । सरकारले कोभिडपछि सबै क्षेत्र खुला गरिसकेको अवस्थामा मन्त्रालयले समन्वय गर्न नसकेको पनि उनीहरूको आरोप थियो ।

बैठकका सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीले स्वास्थ्य मन्त्रालयको लापरबाहीको विषयमा प्रश्न उठाएका थियौं । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ बैठकमा उपस्थित अधिकांशले नयाँ प्रजातिको भाइसरबाट जोगिन चीन र भारत दुवै देशको सिमानामा कडाइ गर्नुपर्ने सुझाव दिएका थिए ।

नयाँ भाइरसबाट हुन सक्ने संक्रमणको अवस्थाको बारेमा सबै निकाय चिन्तित हुनुपर्ने सबैको भनाइ थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसले पार्ने प्रभावको बारेमा अनुसन्धान गरिरहेको बताउँदै नयाँ प्रजातिले विश्वलाई चिन्तित तुल्याइसकेको जनाएको छ ।

सीसीएमसीका प्रवक्ता एवं सहसचिव सुनीता नेपालले सीसीएमसीको बैठकको निर्णयानुसार उच्च सतर्कता अपनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव पठाइएको जानकारी दिए । यद्यपि उनले कुन–कुन मुलुकको यात्रा प्रतिबन्ध लगाउने भन्ने विषयमा भने निर्णय नभएको बताए । उनले भने– ‘कुन–कुन देशका यात्रुलाई प्रतिबन्ध लगाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषद्मा सीधै सिफारिस होला ।’

ओमिक्रोन भाइरस अफ्रिका, एसिया र युरोपका अधिकांश मुलुकमा प्रवेश गरिसकेको छ । दक्षिण एसियाली मुलुकमा समेत यो नयाँ प्रजाति प्रवेश गर्न सक्ने आशंकामा भारतले समेत अफ्रिकी मुलुकको यात्रामा प्रतिबन्ध लगाइसकेको छ ।

कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन भाइरस अस्ट्रेलिया, हङकङ, इटाली, जर्मनी, ब्राजिल, इजरायल, नेदरल्यान्ड, बेलायत, बेल्जियम, चेकगणतन्त्रलगायतका मुलुकमा फैलिइसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *