दशौं महाधिवेशन : एकताको महाधिवेशन

पृथ्वीसुब्बा गुरुङ ।
नेकपा(एमाले) को १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले)को पार्टी जीवनमा ऐतिहासिक र एकताको महाधिवेशन हो । महाधिवेशनमा कुनै कुराको कमी हुन नदिन नेकपा एमालेले मूल व्यवस्थापन कमिटी र विभिन्न कमिटीहरुले भब्य तयारीका काम गरिरहेका छन् ।
प्रतिनिधि छनौट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । यसैगरी महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने अन्य सम्पूर्ण तयारी पनि सकिनै लागेको छ ।

यो महाधिवेशनलाई हामीले जनपरिचालनको महाधिवेशनका रुपमा पनि लिएका छौं । नबौं महाधिवेशनपछि नेकपा एमालेको पार्टी जीवनमा धेरै आरोह—अवरोहहरु आए । नेकपा माओवादी केन्द्र र एमालेको एकताले पूर्णता नपाउँदै छुट्टिएको अवस्थामाहामीले विधान महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गरेर राष्ट्रिय महाधिवेशन गर्दै छौं । यस्तो अवस्थामा कतिपयलाई के लागेको थियो भने धेरैभन्दा धेरै कार्यकर्ताहरु एमाले छाडेर गएका होलान । तर त्यस प्रकारको आशंका र भ्रम हामीले विधान महाधिवेशनबाट पूर्ण रुपमा हटाउन सफल भएका छौं । यसैगरी यो महाधिवेशनबाट फेरि २०७४ सालको निर्वाचनमा एमालेलाई मत दिएका जनता नेकपा एमालेमै छन् ,बरु पार्टी झन् ठूलो र शक्तिशाली बनिरहेको छ भन्ने अर्को सन्देश दिन गईरहेका छौं । यसै अनुसार सबै प्रदेशहरुले आफ्नो तयारी गरिसकेका छन् ।
महाधिवेशनभन्दा अगाडि नै हामीले विधान महाधिवेशन मार्फत पार्टीको राजनीतिक कार्यदिशा, कार्यक्रम, वैचारीक पक्ष लगायतलाई विभिन्न विधागत छलफल गरेर टुङ्गो लगाईसकेका छौं । अब यो महाधिवेशन मुख्य गरी नेतृत्व छनौटमा केन्द्रीत हुने छ ।

हामी भावनात्मक रुपले र मनोवैज्ञानिक रुपले विभाजित भएको एमालेलाई पुर्नजीवन दिन चाहन्छौं । हामी पार्टी पंक्तिमा पनुर्जागरण चाहन्छौं । नबौं महाधिवेशनपछि एमाले पार्टीको जीवनमा जतिपनि उतारचढावहरु भएका थिए ती सबैलाई एकीकृत गर्दै पार्टीलाई अझै गतिशिल र कार्यकर्ताहरुलाई एकतावद्ध गर्दै अगाडि बढ्ने नेतृत्व हामीले यस १०औं राष्ट्रिय महाधिवेशनबाट छनौट गर्दै छौं ।
एमालेको महाधिवेशनमा चुनावी सरगर्मीका बारेमा खास गरेर धेरै पत्रकार साथीहरुले जिज्ञाशा राख्ने गर्नुहुन्छ । म स्पष्ट पार्न भने महाधिवेशन प्रतिनिधि छनौट होस वा पालिकादेखि वडातहसम्मको नेतृत्व छनौटमा हामीले यस पटक नेता तथा कार्यकर्ताको क्षमता र अनुभव हेरेर जिम्मेवारी दिएका छौं । जसका कारण धेरै स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्न सकिएको छ । यस्तै राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हो । हामीले यहीँबाट नेकपा एमाले पार्टीको आन्तरिक जीवनमा पनि एकढिक्का छ भन्ने सन्देश दिँदै छौं । नेताहरुको क्षमताको उचित व्यवस्थापनका लागि श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरु लागिरहनुभएको छ ।

हामीले चितवनबाट विभिन्न राजनीतिक दलबाट एमालेमा जोडिनुभएका र एमालेभित्रै राजनीति गरिरहेका सबै नेताहरुलाई उचित जिम्मेवारीका साथ पार्टी कमिटी गठन गर्दै छौं । एमालेभित्रकुनै गुट र समुह नरहेका कारण पनि यस पटक महाधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने समुह बनाउने कुनै गतिविध हुने छैनन् । सबैलाई उचित जिम्मेवारी, उचित स्थानमा दिएर नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन १२ गते सम्पन्न हुने छ ।

सबैको साझा पार्टीका रुपमा, सबैले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्ने गरी, सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, उमेर समुह, अल्पसंख्याक लगायतले आफ्नो पार्टी एमाले भएको महसुस गर्नेगरी यसपटकको महाधिवेशन सकिने छ । यसकारण हामीले यस महाधिवेशनलाई एकताको महाधिवेशन भनेका छौं ।

हामी अहिले परिवर्तित समयमा छौं । विगतमा रहेको हाम्रो संगठनको संख्यात्मक सहभागितामा केही पुर्नविचार हुन सक्छ । त्यसैगरी राजनीतिक, कुटनीतिक र समृद्धिको यात्रामा नेकपा एमाले सधै अग्रपंक्तिमा रहेर सामन्तवाद अन्त्य गरेका छौ । निरंकुश राजतन्त्र हटेको छ । अब मुलुक पूजिँवादी चरणमा प्रवेश गरेको छ । यस्तो अवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने अर्थनीति कस्तो हुने ?पार्टीले सञ्चालन गर्नुपर्ने राजनीति कस्तो बनाउने ? संस्कृति, कुटनीति, संगठनात्मक संरचना र त्यसको कार्यन्वयनको विधि प्रक्रिया कस्तो बनाउने लगायतका केही विषयमा नयाँ ढंगले सोच्नुपर्ने छ ।

पूँजिवादी जनवादी क्रान्ति पुरा भईसकेपछि बिचारको हिसावले अब सामाजिक आर्थिक र राजनीतिकको ठोस कार्यक्रम सहितको एमाले बनाउने अठोट गर्ने छौं । एमालेले राजनीतिक परिवर्तनको नेतृत्व गर्दै मुलुकलाई आजको अवस्थामा ल्याएको छ । अब अहिलेको अवस्थाबाट अझै समृद्ध नेपाल र सुखी नेपालीको अबधारणालाई स्थापित गर्दै आमूल परिवर्तनको बाटोमा अगाडि बढ्ने छौं ।
यो महाधिवेशनमा समावेशी सहभागितालाई हामीले उच्च प्राथमिकतामा राखेका छौं । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटको अवस्थादेखि नै विभिन्न आरक्षणको व्यवस्था गरेर महिला, दलित, मुस्लिम, अल्पसंख्याक, अपाङ्गता लगायतका सबै क्षेत्रको न्यूनतम् सहभागितालाई सुनिश्चित गरिएको छ ।

तर जनजातीको हकमा आरक्षणको व्यवस्था भएको छैन । तर संविधानमा भएको व्यवस्था अनुसार प्रतिनिधित्व हुनेगरी नै पार्टीले प्रतिनिधि छनौट गरेको छ । बिविधतामा आधारित रहेर व्यवस्थित वहुरंगी पार्टीका रुपमा एमालेलाई निर्माण गर्नेगरी सहभागितालाई जोड दिएको छ ।
हामी चितवनबाट देश तथा विदेशमा रहेका हाम्रा शुभेच्छुक, कार्यकर्ता र नेताहरुलाई नेकपा (एमाले) एउटा व्यवस्थित र एकतावद्ध दलका रुपमा स्थापित बन्यो भन्ने सन्देश दिने छौं । पार्टीभित्र अहिलेपनि महाधिवेशन आयोजक कमिटी निर्माण देखि नै जिम्मेवारी दिने सवालमा हामीले हेर्न सक्छौं सबै साेंच विचार पुर्याएर नेताहरुलाई जिम्मेवारी दिईएको छ । यसैगरी विगतमा ‘इमोस्नल्ली डिभाईडेड’ एमालेलाई ‘यूनिफाईड’ एमाले बनायौं भन्ने सन्देश चितवनबाट दिने छौं ।

विगतका घट्नाक्रमले कतिपय नेताहरुमा मनोबैज्ञानिक प्रभाव परेको हुन सक्छ । त्यसलाई पनि हामी हटाउने छौं । विगतका सबै कुराहरुलाई विर्सेर कुनै आमुक नेताको पक्ष र विपक्षमा कोही नेता कार्यकर्ता विभाजित नभएको १०औं महाधिवेशन हुने छ । महाधिवेशनले दलित, जनजाती, महिला, पिछडिएको क्षेत्र, वर्ग, जाती समुदाय सबैको भावना सम्बोधन भएको पार्टीका रुपमा स्थापित गर्नेछ । साथै आगामी निर्वाचनमा जनताको खास पार्टीका रुपमा स्थापित हुने गरेर जनताको बीचमा जाने सन्देश पनि हामी चितवनबाट दिँदै छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *