प्रधानन्यायाधीशले राजीनामा नदिए लोकतन्त्रमै धक्का लाग्छः कानुनविद्

काठमाडौं । वरिष्ठ कानुनविद् श्रीहरि अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए संसदीय व्यवस्थामा ठूलो धक्का लाग्ने बताएका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीश, नेपाल बार एसोसिएसन, पूर्व प्रधान्यायाधीशहरू र नागरिक समाजको दबाब थेग्ने तागत राणाले कहाँबाट पाएका छन् भनी उनले प्रश्न गरे ।

वरिष्ठ अधिवक्ता अर्यालले भने, “अब राणाले राजीनामा दिनुभएन भने न्यायपालिका ध्वस्त पार्न उहाँलाई कसैले मलजल गरिरहेको छ या शक्ति दिइरहेको छ भन्ने कुरा प्रमाणित हुन्छ । त्यस्तो अतिरिक्त तागत पाउनुभएको छ भने उहाँ त जोगिनु होला, लोकतन्त्र चाहिँ गुम्छ ।”

जनताले मान्यता नदिएपछि संविधानको आड लिएर प्रधानन्यायाधीश कति दिन पदमा टिक्ने भनी अर्यालले प्रश्न गरे । उनले थपे, “उहाँका क्रियाकलापलाई सर्वोच्च अदालतका न्यायाधीश र बार एसोसिएसनले मिहिन रुपमा हेरेका छन् । यसरी बसिरहने हो भने न्यायपालिकाप्रतिको जनविश्वास र साख समाप्त हुन्छ । संसद् खत्तम भैसकेको छ, अब न्यापालिका पनि खत्तम हुने भने लोकतन्त्र गुम्छ ।”

अब संसद्को काम गर्ला र लोकतन्त्र रहला भन्ने विश्वास कसैलाई नभएको उनले बताए । उनले थपे, “संसद् असफल भइसक्यो । लोकतन्त्रमा दलहरुबीच मतभिन्नता हुन्छ । तर, संसद् चलाउने सवालमा न्यूनतम सहमति हुनुपर्छ । तर नेताहरु नै लोकतन्त्र जोगाउन तयार छैनन् । राणाले राजीनामा नदिए संसदीय व्यवस्थामा ठूलो धक्का लाग्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *