एजेन्सी । पछिल्लो समय ओले गनर सोल्सार अलि बढी नै चर्चामा छन्, कारण हो म्यानचेस्टर युनाइटेडको लगातारको खराब प्रदर्शन । गत आइतबार चिरप्रतिद्वन्दी लिभरपुलसँग ५-० गोलको हार बेहोरेको पछि सोल्सारको जागिर जानेमा पक्कापक्की थियो । तर क्लबले उनलाई एक मौका दिने निर्णय गर्यो र उक्त निर्णयको सोल्सारले सहि उपयोग गर्छन् या गर्दैनन् आजको खेलले बताउनेछ ।
म्यानचेस्टर युनाइटेडले आज लण्डनको भ्रमण गर्दैछ । प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा युनाइटेडले टोटेन्हाम हट्सपरको सामना गर्दैछ । हट्सपर रंगशाला हुने खेल नेपाली समय अनुसार १०:१५ बजे शुरु हुनेछ । आजको खेलले ओलेको जागिरको निर्धारण गर्नेछ । आजको खेलमा सकारात्मक नतिजा नआएको खण्डमा क्लबलाई ओलेलाई बर्खास्त गर्ने लगभग पक्कानै छ ।
च्याम्पियन्स लिगको पहिलो खेलमा योङ ब्वाइजसँग पराजित भएपनि त्यसपछिको दुई खेलमा शानदार पुनरागमन जित निकाल्दै युनाइटेडले ६ अङ्क जोडेको थियो । तर घरेलु लिगमा सुखद सुरुवात गरेको युनाइटेडले पछिल्लो समय आफ्नो लय गुमाएको छ । युनाइटेडले लिगको पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । युनाइटेडले पछिल्लो पटक सेप्टेम्बर १९ मा वेस्टहामलाई २-१ गोलले पराजित गरेयता प्रिमियर लिगमा जित निकाल्न सकेको छैन ।
हाल युनाइटेड ९ खेलबाट १४ अङ्क जोड्दै लिगको सातौं स्थानमा रहेको छ । पछिल्लो ४ खेल मध्य ३ खेलमा पराजित भएको युनाइटेड शिर्ष स्थानमा रहेको चेल्सी भन्दा ८ अङ्कले पछि रहेको छ ।
यता युईएफए कन्फ्रेन्स लिग र प्रिमियर लिगमा गरि भिटेसे र वेस्टहामसँग लगातार हार बेहोरेको टोटेन्हामले ईएफएल कपको प्रि-क्वाटर फाइनलको खेलमा बर्नेलीलाई १-० गोलले हराउँदै विजयी पथमा फर्किएको थियो । यस सिजन टोटेन्हामको प्रिमियर लिगमा यात्रा भने मध्यम रह्यो । लिगको ९ खेलमा ४ जित र ३ हारको नतिजा निकालेको टोटेन्हान १४ अङ्कको साथ सातौं स्थानमा रहेको छ ।
टोटेन्हामले लिगमा मात्र ९ गोल गरेको छ । टोटेन्हामले युनाइटेडविरुद्ध भएको पछिल्लो ५ खेल मध्य १ खेलमात्र जितेको छ । दुई टोलीबिच भएको पछिल्लो ५८ खेलमा युनाइटेडले ३६ खेल जितेको छ भने टोटेन्हामले १० खेल आफ्नो पोल्टामा पारेको छ ।