उत्तरी नाकाबाट १५ हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै

काठमाडौं। तरकारी बालीका लागि अहिले भइरहेको रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि मल अभाव हुन नदिन सरकारले उत्तरी नाका तातोपानीबाट १५ हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने भएको छ ।

दक्षिणी नाकाबाट मल भित्रिन केही समय लाग्न सक्ने र भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत ल्याउने भनिएको मलसमेत आयात गर्न ढिलाइ हुने हुँदा चीनबाट रासायनिक मल ल्याउन लागिएको हो । आजभोलि लगाइने तरकारी बालीका लागि मलको अभाव देखिन गएको र गहुँबालीका लागि मौज्दात राख्नुपर्ने भएकाले सरकारले चीनमा उत्पादित रासायनिक मल आयात गर्न लागेको हो । आयात गर्न लागिएको मलमध्ये १० हजार मेटन युरिया र बाँकी ५ हजार मेटन डीएपी रहेको छ ।

सिल्क मार्केट नामक नेपाली कम्पनीले आयात गर्न लागेको उक्त १५ हजार मेटन रासायनिक मल सोमवार तिब्बतको सिगात्से भन्ने स्थानमा आइपुगेको र अबको ४ दिनभित्रमा तातोपानी नाकामा आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

भण्डारीका अनुसार अहिले उत्तरी नाकामा केही अवरोध उत्पन्न भएको भए पनि नेपाली पक्षले तिब्बतको ल्हासास्थित नेपालका लागि महावाणिज्य दूतावासका अधिकारीहरूसँग रासायनिक मल आयातका लागि चाँडोभन्दा चाँडो व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । ‘हामीले अनुरोध गर्ने हो अब चिनियाँ पक्षले नाका सहज बनाइदिएमा अबको १५ दिन भित्रमा मल विक्रेता कहाँ पुग्छ,’ उनले भने ।

चीनबाट नेपाल प्रवेश गर्ने तातोपानी नाकामा नेपालतर्फ पहिरोका कारण बाटो अवरुद्ध भएका कारण अहिले एकतर्फी रूपमा मात्र गाडीहरू सुचारु भएकाले आयातमा केही समस्या देखिन सक्ने बताइएको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *