चीन भ्रमणमा जाने रास्वपाका सांसदहरुसँग रवि लामिछानेको छलफल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने टोलीले शनिबार सभापति लामिछानेको निवासमा भेट गरी भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो ।

रास्वपाका अनुसार २० जना सांसदको टोली आइतबारदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणअघि टोलीले पार्टी सभापतिसँग आवश्यक सल्लाह तथा सुझाव लिएको हो ।

यसअघि शुक्रबार प्रधानमन्त्री बालेन साहले चीन भ्रमणमा जान लागेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका थिए । त्यसक्रममा प्रधानान्त्रीले दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनासँग जोडिएको भन्दै भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित हुन नहुने बताएका थिए ।

भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *