एकीकृत समाजवादी माओवादी केन्द्रको सहायक पार्टी : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रचण्डसँग ‘लिभिङ टुगेदर’ बसेर पार्टी फुटाउने माधव नेपाल अपराधी भएको आरोप लगाएका छन् । नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्रको सहायक पार्टीमात्र भएको उनको भनाइ छ ।

नेता पण्डितले भने, ‘माधव नेपालले केही महिनाअघि एमाले फोड्ने अपराधी हो, म अपराधीको मुख हेर्दिनँ भन्नुभएको थियो । अहिले उहाँ आफैले पार्टी फोड्नुभयो । उहाँकै कुरा अनुसार अब माधव नेपाल अपराधी हुन पुग्नुभयो । पहिले मैले पनि उहाँलाई साथ दिएको हुँ । तर उहाँ प्रचण्डसँग लिभिङ टुगेदर बस्नुभयो, सपना र विपनामा प्रचण्ड मात्रै देख्न थाल्नुभयो, अहिलेको सन्दर्भमा कार्लमार्क्स भन्नुभयो । एकीकृत समाजवादी अलग पार्टी होइन, माओवादी केन्द्रको सहायक पार्टी हो । यो देशी, विदेशी र प्रचण्डको योजना अनुसार अघि बढ्नुभएको छ । यो पार्टी प्रतिस्पर्धा गर्न होइन, च्याँखे थाप्नका लागि जन्मेको हो । यो चाँडै माओवादी बन्छ र धेरैजसो साथीहरु एमालेमै फर्कन्छन् । माधव नेपाल चोक्टा खान गएका भगौडा हुन् । उहाँले आफ्नै इतिहासलाई कलंकित पार्नुभएको छ ।’

पण्डितले विभाजनले नेकपा एमालेलाई घाउचोट लागे पनि पहिलो पार्टी रहेको बताए । उनले भने, ‘केही नेता बाहिरिएका छन्, केही नेतालाई भ्रम थियो तर नेकपा एमाले अहिले पनि पहिलो पार्टी हो । साढे ८ प्रतिशत जनप्रतिनिधि मात्र दिग्भ्रमित भएर उता लागे । कतिपय फर्कने क्रम चल्दै छ । नेकपा एमाले कमजोर छैन । महाधिवेशनपछि झन् बलियो भएर जान्छ । झन् चुस्त दुरुस्त हुन्छ ।’

७० वर्ष पुगेका व्यक्ति मुख्य नेतृत्वमा रहन नपाउने नवौं महाधिवेशनको व्यवस्थामाथि विधान महाधिवेशनमा छलफल हुने उनले बताए । उनले भने, ‘विधानका कुनै प्रावधान कोही व्यक्ति वा नेताका लागि केन्द्रित भएर आउँदैनन् । केपी ओली फेरि अध्यक्ष बनाउने हिसाबले खारेज हुने या रहने अहिले भन्न सकिँदैन । विधान महाधिवेशनमा ३ हजार प्रतिनिधिले पार्टीलाई कस्तो बनाउने छलफल गरेर अन्तिम निर्णय गर्छन् । अहिले हाम्रो ध्यान एमालेलाई सशक्त, सुदृढ र विस्तृत पार्टी बनाउनमा छ ।’

नेता पण्डितले आज संसद्मा एमालेको विरोध कायम रहने बताए । उनले भने, ‘हाम्रो विरोधका बीचमा सत्ता गठबन्धनले के गर्छ, हामीलाई थाहा छैन । संसद्भित्र हामी जबर्जस्ती गर्दैनौं । हामी कसैको टाउको फुटाउँदैनौं, कुर्सी तोडफोड गर्दैनौं । जिम्मेवार प्रतिपक्ष भएकाले संवैधानिक र कानुनी अभ्यास अन्तर्गत रहेर भूमिका निर्वाह गर्छौं । पार्टी फुटाउने र रमाउने नियतसाथ आएको गठबन्धनलाई लाज सरम हुनुपर्ने हो । हामी त्वम् शरणम् गर्दैनौं । एमाले अब हवस् प्रभु भन्ने ठाउँमा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *