पर्यटकको बसाइ बढाउन सुुझाव

सौराहा । कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन् । उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने अनुमति दिएको छैन ।

पर्यटकीय होटल व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटकलाई निकुञ्जले दिने एकदिने प्रवेश पासको अवधि बढाएर तीन दिनको बनाउनुपर्ने माग गरे ।

“पर्यटकको बसाइ लम्ब्याउने हो भने निकुञ्जभित्र पर्यटक प्रवेशको अवधि लम्ब्याउनुपर्छ,” उनले भने, “अहिले जति आएका पर्यटकको बसाइ केही दिन लम्ब्याउन सकियो भने मात्रै पनि रुग्ण पर्यटन व्यवसाय उकास्न सहयोग पुग्नेछ ।” अहिले निकुञ्जले नेपालीका हकमा १५० रुपियाँ र विदेशीका हकमा दुई हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । यो शुल्क तिरेर पर्यटक एक दिन मात्रै निकुञ्ज अवलोकन गर्न पाउँछन् । यो प्रवेश शुल्क तिरेपछि तीन दिन निकुञ्ज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग हो ।

“एक दिन त हात्ती सफारीमै जान्छ । दोस्रो दिन जिप सवारी र डुङ्गा सवारी भयो, जङ्गलमा हिँड्न चाहने पर्यटकलाई तेस्रो दिन घुमाउन सकियो भने पर्यटकको बसाइ लम्बिने छ”, सङ्घका महासचिव गुणराज थपलियाले भने । उनका अनुसार अहिले एकै दिन सबै प्याकेज सक्दा पर्यटकले कि त कुनै प्याकेज छाड्नु परेको छ कि त हतार हतारमा थकित भएर प्याकेज पूरा गर्नुपर्ने बाध्यता छ ।

यहाँ हात्ती चढेर बाघ, गैँडाजस्ता दुर्लभ जनावर अवलोकन गर्न राष्ट्रिय निकुञ्ज खुला भएको हो । २०२९ सालमा स्थापित निकुञ्जले पाँच दशकको अवधिमा ३० लाख पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको निकुञ्जले जनाएको छ । कोरोना कहरअघिसम्म सामान्य अवस्थामा वर्षमा डेढ लाखको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरेको पाइन्छ ।

आउनेमध्ये २० प्रतिशत सार्क राष्ट्रका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पर्यटकको प्रवेश अवधिकै कारण समस्या भएको भन्ने कुरा गलत भएको तर्क गर्छन् । “पर्यटकको प्रवेश शुल्क निकुञ्जको आम्दानीसँग पनि जोडिएको सवाल हो ।

सामान्य अवस्थामा एकदिने प्रवेशपत्रबाटै पनि वर्षमा डेढ लाख रुपियाँभन्दा बढी पर्यटकले निकुञ्ज प्रवेश गरिरहेकोअवस्था छ,” उनले भने । उहाँले निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन र वन्यजन्तुको सुरक्षाका कारण पनि प्रवेश अवधिको दिन बढाउन नसकिएको उनको भनाई छ ।

“हाम्रो चिन्ता निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन कसरी गर्ने भन्नेमा हुन्छ,” उनले भने । चितवन हात्ती चढेर गैँडा हेर्न विश्वमा नै प्रख्यात क्षेत्र हो । निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारीलगायतका गतिविधि गर्नै पर्यटकहरू आउँछन् ।

९३२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु, ६६० प्रजातिका चराचुरुङ्गी, विभिन्न प्रजातिका वनस्पति तथा सरिसृप पर्यटकका लागि आकर्षक मानिन्छन् । निकुञ्जभित्र रहेका बीस हजारी ताललगायतका रामसार क्षेत्रमा रहेका ताल तलैयाले पनि पर्यटकलाई तान्ने गरेका छन् । घडियाल प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र पनि पर्यटकको आकर्षण केन्द्र हुन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *