काठमाडौं । फूटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा यथावत रहेको हो ।
नेपालले यहि महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ गोलले पराजित भएपनि फिफा वरीयतामा भने कुनै घटबढ भएन । यता भारत भने दुई स्थान तल झर्दै १ सय ७ औं स्थानमा रहेको छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स १ सय ५८ औं स्थानमा रहँदा भुटान १ सय ८७ औं, बंगलादेश १ सय ८९ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । यता वरीयताको पहिलो दुई स्थानमा फ्रान्स र ब्राजिल यथावत रहेका छन् । इङ्ल्यान्ड एक स्थान उक्लिदै तेस्रो स्थानमा पुगेको छ भने फ्रान्स चौथो स्थानमा झरेको छ ।
इटाली र अर्जेन्टिना क्रमशः पाँचौ र छैटौं स्थानमा यथावत छन् भने पोर्चुगल एक स्थानमा उक्लिदै सातौं स्थानमा रहेको छ भने स्पेन आठौं स्थानमा झरेको छ । मेक्सिको, डेनमार्क, नेदरल्यान्ड्स र उरुग्वे क्रमशः नवौं, दसौं, ११ औं र १२ औं स्थानमा रहेका छन् ।
